निर्माण व्यवसायीहरुले लगाए सडक डिभिजन हेटौंडामा ताला

निर्माण व्यवसायीहरुले लगाए सडक डिभिजन हेटौंडामा ताला



हेटौंडा । निर्माण व्यवसायीहरुले शुक्रबार सडक डिभिजन हेटौंडामा ताला लगाएका छन् । निर्माण व्यवसायी संघ मकवानपुरको नेतृत्वमा सडक डिभिजन कार्यालयको मूल ढोकामै संघका अध्यक्ष बालगोपाल कंडेललगायतका निर्माण व्यवसायीले ताला लगाएका हुन् ।

विहीबार राजधानीमा पत्रकार सम्मेलन गर्दै नेपाल निर्माण व्यवसायी महासंघले आर्थिक वर्षको समाप्ती हुन लाग्दासमेत निर्माण व्यवसायीहरूको ठूलो रकम भुक्तानी नभएकाले निर्माण उद्योगमा विकराल समस्या देखिएको जनाएको थियाे । भुक्तानी नदिने कार्यालयमा अब क्रमशः तालाबन्दीसहित अन्य अवरोध सिर्जना गरिने चेतावनी महासंघका अध्यक्ष रवि सिंहले दिएका थिए ।

संघले ताला लगाएपछि सडक डिभिजन हेटौंडामा कर्मचारी र सेवाग्राहीहरु कार्यालय भित्रै थुनिएका छन् । संघले सडक डिभिजन हेटौंडाबाट सडक र पुल निर्माण वापत्को २५ करोड बढी रुपैयाँ भुक्तानी नदिएको आरोप लगाएको छ ।

अध्यक्ष कंडेलले डिभिजनको कार्यक्षेत्रभित्र पुल निर्माण कार्य गरेको मात्रै १० करोड बढी भुक्तानी बाँकी रहेको बताए । डिभिजनले सपना-साग कन्ट्रक्सनको १ करोड ३५ लाख, निरिक्षा निर्माण सेवा प्रालिको १ करोड, मेरिना कन्ट्रक्सन कम्पनी प्रालिको १ करोड ४० लाख, डिएस कन्ट्रक्सन÷मोना जेभीको १ करोड ५० लाख, एलाइट÷मोना जेभीको १ करोड ५० लाख भुक्तानी नभएको उनले बताए ।

प्रहरीले ताला खोलेर वार्तामा बस्न आग्रह गर्दा पनि निर्माण व्यवसायीहरु ताला खोल्न तयार भएका छैनन् । संघले सडक आन्दोलनमा जाने तयारी गरिरहेको चेतावनी दिएकाे छ ।

उनकाअनुसार जिल्लाका स्थानीय तह, प्रदेश र संघीय सरकार मातहतका अन्य कार्यालयबाट निर्माण व्यवसायीको ५० करोड भन्दा बढी भुक्तानी हुन बाँकी रहेको छ । भुक्तानी नदिने कार्यालयहरुमा धर्ना र तालाबन्दीको कार्यक्रम जारी राख्ने कंडेलले बताए ।

सडक डिभिजन हेटौंडाका प्रवक्ता इन्जिनियर रमेशकुमार पाण्डयेले अर्थ मन्त्रालयबाट पैसा नै नआए पछि निर्माण व्यवसायीहरुको भुक्तानी दिन नसकिएको बताए । मन्त्रालयलाई पटक–पटक आग्रह गर्दा पनि पैसा नआएको उनको भनाई छ । पाण्डेयले आन्दोलित निर्माण व्यवसायीहरुको २५ करोड रुपैयाँ भुक्तानी दिन बाँकी रहेको बताए ।