त्रिशूलीमा बेपत्ता यात्रुको खोजी तीव्र पार्न प्रधानमन्त्रीको निर्देशन

त्रिशूलीमा बेपत्ता यात्रुको खोजी तीव्र पार्न प्रधानमन्त्रीको निर्देशन



काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चितवनको सिमलतालस्थित सडकबाट त्रिशूली नदीमा गाडी खसेर बेपत्ता भएका यात्रुहरूको खोजीलाई तीव्रता दिन तीनवटै सुरक्षा अंगहरूलाई निर्देशन दिएका छन् ।

प्रधानमन्त्री दाहालले आइतबार बिहान निजी निवास खुमलटारमा बोलाएर नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका प्रमुखलाई हराइरहेका यात्रुहरूको खोजीलाई तीव्रता दिन निर्देशन दिएको दाहालको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री दाहालले सिमलताल बस दुर्घटनापछिको खोजी कार्य र पछिल्लो अवस्थाको जानकारी लिएका थिए ।

प्रधानमन्त्री प्रचण्डले देशका विभिन्न भागमा बाढी, पहिरो, डुबान लगायतका प्राकृतिक विपत्ति तथा दुर्घटनाको उद्धारमा खटिएका सुरक्षाकर्मीलाई धन्यवादसमेत दिए ।

देशको राजनीतिक परिस्थिति जस्तो भए पनि स्थायी सरकारको रुपमा रहेको कर्मचारीतन्त्र र सुरक्षा निकायले अविचलित र अभिछिन्न जनताको सेवामा लागि पर्न प्रचण्डले आग्रहसमेत गरे ।