काठमाडौं । संविधानको प्रभावकारी कार्यान्वयन गर्दै देशमा समृद्धि र विकासका लागि बलियो एवम् स्थिर सरकारको आवश्यकता देखिएका बेला ४५ औँ प्रधानमन्त्रीका रूपमा नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओली नियुक्त भएका छन् । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओली नेपाली राजनीतिको केन्द्रमा रहने एक राजनीतिज्ञ हुन् ।
प्रधानमन्त्री ओलीलाई देशका प्रमुख राजनीतिक पार्टी कांग्रेस र एमालेको प्रस्तावमा झन्डै दुई तिहाइको समर्थनमा सरकारको नेतृत्व गर्ने ऐतिहासिक अवसर प्राप्त भएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ७६ काे उपधारा (२) बमोजिम आज प्रधानमन्त्रीमा नियुक्त अध्यक्ष ओली संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेस र दोस्रो ठूलो दल एमालेको समर्थनमा देशको कार्यकारी प्रमुखको जिम्मेवारीमा पुनः आएका हुन् । संसद् विघटन र सर्वाेच्च अदालतमा रिट निवेदन परेका अवधिलाई गणना नगर्ने हो भने अध्यक्ष ओली यसअघि तीन कार्यकाल प्रधानमन्त्री भइसकेका छन् ।
विसं २०७१ साउन १ गते सम्पन्न पार्टीको नवौँ राष्ट्रिय महाधिवेशनमा अध्यक्षमा निर्वाचित ओली स्पष्ट अडान राख्ने र दृष्टिकोणमा अडिग रहने नेताका रूपमा चिनिन्छन् । उनको गतिशील एवम् सबल नेतृत्वमा पार्टी पनि यही देष्टिकोणका साथ अघि बढेको छ ।
नेपालको वर्तमान संविधान जारी भएसँगै २०७२ सालकाे असोज २४ गते अध्यक्ष ओली पहिलोपटक प्रधानमन्त्री बनेका थिए । यसैगरी २०७४ सालको आमचुनापछि नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को समर्थनमा २०७४ सालकाे फागुन ३ गते झन्डै दुई तिहाइ बहुमतसहित उनले दोस्रोपटक सरकारको नेतृत्व गरेका थिए ।
त्यसपछि २०७५ सालकाे जेठ ३ गते एमाले र माओवादी केन्द्रको एकता भई उनी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को दुई अध्यक्षमध्ये पहिलो वरीयताको अध्यक्ष भएका थिए । पार्टीभित्रको विवादका कारण उनी नेतृत्वको सरकार अल्पमतमा परेको थियो । तत्कालीन राजनीतिक घटनाक्रमका बीच प्रधानमन्त्रीका हैसियतले मध्यावधि चुनावका लागि गर्नुभएको सिफारिश सर्वाेच्च अदालतको आदेशबाट बदर भएपछि अध्यक्ष ओली सरकारको नेतृत्वबाट बाहिरिएका थिए ।
किसान परिवारमा जन्म, पञ्चायतविरोधी आन्दोलनमा अगुवाइ
निम्न मध्यम वर्गीय परिवारमा बुबा मोहनप्रसाद र आमा मधुमाया ओलीको सन्ताका रूपमा जन्मिएका ओली लोकतन्त्रका लागि लामो सङ्घर्ष, जेलनेल, पटकपटक कठोर यातना भोग्ने सीमित नेताहरूमा पर्छन् । पूर्वी पहाडी जिल्ला तेह्रथुमको आठराईमा रहेकाे इवा गाउँको साधारण किसान परिवारमा २००८ साल फागुन ११ जन्मिएका ओली चार वर्षको उमेरमै मातृस्नेहबाट विमुख हुन पुगेका थिए । हजुरआमा रमादेवी ओलीको पालनपोषणमा हुर्किएका ओलीले बालक छँदा पढाइका साथै ग्रामीण किसान परिवारमा गरिने सबै काम गरेका थिए ।
तेह्रथुम छोडेर २०२० सालमा उनको परिवार झापा बसाइँ सर्याे । झापाको सामाजिक, सांस्कृतिक, शैक्षिक तथा आर्थिक परिवेशमा अन्तरघुलित हुँदै जिज्ञासु स्वभावका ओलीले किशोर अवस्था पार गरे । हरेकजसो विषयमा जिज्ञासा राख्ने स्वभावले ओलीलाई समाजभित्र हुने असमानता, विभेद र पक्षपातलगायतका प्रश्नहरूको उत्तर खोज्नतिर प्रेरित गर्याे ।
अध्यक्ष ओलीको राजनीतिक उदय झापा आन्दोलनको सिर्जना र कठोर भूमिगत सङ्घर्षबाट भएको हो । राजतन्त्रात्मक पञ्चायती शासन व्यवस्थाको विरोधसहित देशभक्ति, लोकतन्त्र, समानता, सामाजिक न्याय, भेदभावरहित समाज र जनजागरणका लागि कम्युनिस्टहरूको सहभागितामा भएको आन्दोलनमा उनको नेतृत्वदायी भूमिका रहँदै आएको छ ।
उनले लोकतान्त्रिक संरचनाहरूको सबलीकरण, राष्ट्रिय स्वाधीनताको रक्षा, लोकतन्त्रको मूल्यमान्यतप्रति प्रतिबद्धता, उग्रता र भड्काउहरूबाट समाजको रक्षा र नागरिकको जीवनमा सुख शान्तिका लागि अविचलित रूपमा अग्रणी भूमिका निर्वाह गरेका छन् । ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने सङ्कल्पलाई काँधमा बोकेर देश र नागरिककाे सेवाका लागि सरकारको नेतृत्वमा रहँदा र नरहँदा पनि अहोरात्र खट्ने अध्यक्ष ओली कुशल वक्ता, तार्किक र अध्ययनशील नेतासमेत हुन् ।
झन्डै छ दशक लामो राजनीतिक यात्राका क्रममा १४ वर्ष कठोर जेलजीवन बिताएका अध्यक्ष ओली २०७८ सालकाे मङ्सिरमा चितवनमा सम्पन्न एमालेको दशौँ राष्ट्रिय महाधिवेशनबाट दोस्रो कार्यकालका लागि भारी मतका साथ अध्यक्षमा निर्वाचित भएका थिए ।
पन्ध्र वर्षेको किशोर उमेरमै २०२३ सालमा उनी रामनाथ दाहालको अगुवाइमा रहेको मार्क्सवादी अध्ययन दलमा सामेल भए । नेता दाहालसहित पाँच योद्धालाई तत्कालीन पञ्चायती सरकारले जेल सार्ने बहानामा सुखानीको जङ्गलमा लगेर गोली हानी हत्या गर्याे, उनीहरूलाई अहिले झापा आन्दोलनका शहीदका रूपमा चिनिन्छ ।
मार्क्सवादी अध्ययन दलमा सामेल भएको दुई वर्षमै पूर्णकालीन राजनीतिमा जोडिएर २०२६ माघमा उनले नेपाल कम्युनिस्ट पार्टीको सदस्यता पाए । पार्टी सदस्यता पाएको वर्ष नै पहिलोपटक उनी गिरफ्तारीमा परे ।
२०२८ सालमा ओली झापा आन्दोलन कमिटीको प्रमुखमा मनोनीत भएका थिए । त्यही आन्दोलनको आधारभूमिबाट अघि बढ्दै गएको पार्टी अहिलेको एमाले हो ।
निरङ्कुश पञ्चायती व्यवस्थाको विरोधका क्रममा नेता ओलीलगायत झापा आन्दोलनका क्रान्तिकारीहरू २०३० सालमा पक्राउ परेका थिए । त्यसपछि उनले चार वर्ष गोलघरको यातनासहित १४ वर्ष लामो कठोर कारावास जीवन बिताए ।
अध्यक्ष ओली जेलमै रहँदा २०३५ साल पुस ११ मा गठित नेपाल कम्युनिस्ट पार्टी (माले) को संस्थापकको हैसियतमा भए । २०४४ साल असार ११ गते जेलबाट रिहा भएपछि त्यही वर्षको पुस २ गते बसेको नेकपा (माले) को केन्द्रीय कमिटी बैठकले उहाँलाई केन्द्रीय सदस्यमा मनोनयन गरी पञ्चायती व्यवस्थाविरुद्धको आन्दोलन परिचालकका लागि लुम्बिनी अञ्चल इन्चार्जको जिम्मेवारी तोक्यो ।
नेकपा (माले) समेतको नेतृत्वमा सञ्चालित जनआन्दोलनले निरङ्कुश पञ्चायती व्यवस्था पराजित भएपछि २०४७ जेठ १ गते नेता ओली पार्टीको युवा संस्था प्रजातान्त्रिक राष्ट्रिय युवा सङ्घ नेपालको संस्थापक अध्यक्ष बने ।
नेपालको कम्युनिस्ट आन्दोलनलाई एकीकरण र विस्तार गर्ने क्रममा २०४७ सलाकाे पुस २२ गते नेकपा (माले) र नेकपा (मार्क्सवादी) बीच पार्टी एकीकरण भएर नेकपा (एमाले) बन्यो र एकीकृत पार्टीमा ओली केन्द्रीय सदस्य रहे ।
संसदीय यात्रा र एमालेको नेतृत्व
बहुदलीय व्यवस्थाको स्थापनापछि २०४८ सालमा भएको पहिलो आमचुनावमा झापा–६ बाट प्रतिनिधि सभाको सदस्यमा ओली निर्वाचित भए । त्यसको तीन वर्षपछि २०५१ सालमा भएको मध्यावधि चुनावमा झापा–२ बाट उहाँ प्रतिनिधि सभा सदस्य चुनिए । यही बीचमा पार्टी जिम्मेवारीका क्रममा उहाँ पोलिटब्युरो सदस्यसहित विदेश विभाग, प्रचार विभाग र संसदीय विभाग प्रमुख भए ।
बहुदलीय व्यवस्थाको पुनर्स्थापनापछि २०५१ सालमा मनमोहन अधिकारीको नेतृत्वमा बनेको प्रथम जननिर्वाचित कम्युनिस्ट सरकारमा उनी पहिलोपटक मुलुकको गृहमन्त्री भए ।
जनकपुरमा २०५९ सालमा भएको एमालेको सातौँ राष्ट्रिय महाधिवेशनमा ओलीबाट प्रस्तुत पार्टीको आन्तरिक लोकतान्त्रिकीकरण गरी बहुपदीय प्रणालीमा जाने प्रस्ताव प्रस्तुत भएपछि पार्टीको उनको प्रभाव थप विस्तारित भयो । त्याे प्रस्तावलाई २०६५ सालमा बुटवलमा भएको आठौँ राष्ट्रिय महाधिवेशनले पारित गर्याे । उनको प्रस्तावलाई महाधिवेशनले पारित गरे पनि उनी पार्टी अध्यक्षमा तत्कालीन अध्यक्ष झलनाथ खनालसँग झिनो मतान्तरले पराजित भए ।
दुई पटक मिर्गाैला प्रत्यारोपण गराएका ७३ वर्षीय अध्यक्ष ओली समकालीन अन्य नेताभन्दा बढी सक्रिय देखिएकाले विकास र समृद्धिको अधुरो यात्राले गति लिने अपेक्षा गरिएको छ ।


प्रतिक्रिया