नयाँ फोटो टाँस्नका लागि सरकार बनाएका होइनौँ : अर्थमन्त्री पौडेल

नयाँ फोटो टाँस्नका लागि सरकार बनाएका होइनौँ : अर्थमन्त्री पौडेल



काठमाडौँ । उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आफूहरु फोटो टाँस्नका लागि मात्रै सरकार नबनाएको बताएका छन् । बिहीबार सिंहदरबारमा नेपाल उद्योग परिसंघका पदाधिकारीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

अर्थमन्त्री पौडेलले आफूहरु सरकारको सूचीमा अर्को एउटा सरकार बनाउने र प्रधानमन्त्रीको सूचीमा अर्को फोटो टाँस्नका लागि मात्रै सरकारमा सहभागी नबनेको जिकिर गरे । अहिले देश साँच्चै नै अप्ठ्यारो स्थितिमा रहेको बताउनुहुँदै उहाँले अहिले देशको स्थितिलाई महशुस गरी त्यसबाट मुक्ति दिलाउन सरकारमा आएको औंल्याए ।

उनले मुख्य दुई ठुला राजनीतिक दलहरु मिलेर सरकार बनाउन नहुने तर्कका बिचमा पनि अहिले दुई ठुला राजनीतिक दल मिलेर नगए सबै क्षेत्रमा टुटेको मनोबल उठाउन कठिन हुने स्थितिका कारण दुई ठुला राजनीतिक दलहरु मिलेर सरकार बनाएको बताए ।

‘हामी सरकारको सूचीमा अर्को एउटा सरकार बनाउने, प्रधानमन्त्रीको सूचीमा तीन पटक फोटो टाँसेको हुनाले चौंथो पटक फोटो टाँस्न जाने, हाम्रो अहिलेको प्रधानमन्त्री चौंथो चोटी फोटो टाँसेर भूतपूर्व प्रधानमन्त्री बन्न आइरहनुभएको होइन । अहिले हामीले देश साँच्चै अप्ठ्यारो स्थितिमा रहेको महशुस गरेका छौँ । यो स्थितिको सामना कसरी गर्ने ? हेरेर बस्ने की समाधानका लागि अघि बढ्नेभन्दा हामी अघि बढ्ने सोचेर आयौँ ।,’ अर्थमन्त्री पौडेलले भने, ‘तर्क छन् नि मुख्य ठुला पार्टी मिलेर सरकार बनाउनु हुँदैन, त्यसो गर्दा प्रतिपक्ष कमजोर हुन्छ, सरकार स्वेच्छाचारी हुन्छ, लोकतन्त्र कमजोर हुन्छ, निरङ्कुशता बढ्छ आदी । हामी मेजर पार्टीहरु बेलाबेलामा मिलेका छौँ र बेला बेलामा प्रतिस्पर्धा गरेका छौँ ।’

उनले अहिलेको स्थितिलाई मध्यनजर गरी नेपाली कांग्रेस र नेकपा (एमाले) मिलेको पनि बताए ।