काँग्रेस-एमालेले पटक पटक काँध थाप्दा पनि अघिल्लो सरकारले लय समात्न सकेन : ओली

काँग्रेस-एमालेले पटक पटक काँध थाप्दा पनि अघिल्लो सरकारले लय समात्न सकेन : ओली



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले एमाले र कांग्रेसजस्ता बलिया पार्टीले पटक पटक काँध थाप्दा पनि अघिल्लो सरकारले लय नसमातेको बताएका छन् ।

प्रतिनिधि सभाको बैठकमा विश्वासको मत लिने प्रस्ताव प्रस्तुत गर्दै प्रधानमन्त्री ओलीले यस अघि कांग्रेस र एमालेले पटक पटक काँध थापेपनि सरकारले लय समाप्त नसकेपछि यो सरकार गठन भएको बताएका हुन् ।

उनले कांग्रेस-एमाले पटक पटक मिलेर देशलाई परिणाम समेत दिएको बताउदै अहिले पनि अप्ठ्यारो समयमा एक ठाउमा आएको बताए ।

प्रधानमन्त्री ओलीले आफू नेतृत्वको सरकारको ५ प्राथमिकता रहेको बताएका छन् । उनले थालेको काम पूरा गर्ने, काम गर्ने क्षमता अभिवृद्धि गर्ने, मूल्यांकन प्रणाली बलियो बनाउने, नीतिगत सुधार गर्ने र निर्माण व्यवसायीको भुक्तानी समयमा नै दिने आफ्नो सरकारको प्राथमिकता सुनाएका हुन् ।

नेपालका धेरै विकास आयोजनाहरु वर्क इन प्रोग्रेस (काम भइरहेको छ) मात्र रहेको भन्दै उनले भने, ‘यो सरकार काम भइरहेको छ भन्न होइन थालेको काम सकियो भन्ने सुनाउन आतुर छ ।’

ओलीले विकास आयोजनामा काम भइरहेको देखिने तर कहिल्यै नसकिने देखिएको भन्दै यस्ता आयोजनालाई समेत राष्ट्रिय गौरवमा राखिएको भन्दै आश्चर्य व्यक्त गरे ।

‘कहिले सक्छु भन्ने टुंगो नलाग्ने तर राष्ट्रिय गौरवको आयोजना भनिने, अब हामी विकासका मामिलामा देखिएको यस्तो अनुशासनहीनताको अन्त्य गर्छौं’, उनले भने ।

प्रधानमन्त्री ओलीले सरकारको काम गर्ने क्षमता पनि बढाउने बताएका छन् । हरेक मन्त्रालयले आफ्नो काम व्यवस्थित ढंगले गर्नुपर्ने र मन्त्रालयको कार्यक्षमता सूचक बनाउने र बजेट खर्चको मूल्यांकनका लागि विशेष व्यवस्था गर्ने प्रधानमन्त्री ओलीले बताए ।

सरकारको खर्च गर्ने क्षमता बढाउने, काम गर्ने र नगर्ने कर्मचारीबीच फरक छुट्याउने प्रधानमन्त्रीले बताए ।