नेपालको वीरता र सौर्यको इतिहास विश्वमा प्रचार गरौँ : राष्ट्रपति

नेपालको वीरता र सौर्यको इतिहास विश्वमा प्रचार गरौँ : राष्ट्रपति



काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले हाम्रा वीर पुर्खाहरूको साहस, वीरता र सौर्यका कारण नेपाल सधैँ स्वतन्त्र राष्ट्र रहेको र यो गौरवपूर्ण इतिहासलाई विश्वमा प्रचार गर्न आग्रह गरेका छन् । राष्ट्रिय विभूति भीमसेन थापाको २५०औँ जन्मजयन्तीको अवसरमा शीतलनिवासमा बुधबार आयोजित कार्यक्रममा राष्ट्रपति पौडेलले सो धारणा व्यक्त गरेका हुन् ।

‘भीमसेन थापाको दुःखान्त जीवन सुन्दा नेपालको अभिशप्त इतिहासको पनि झल्को आउँछ,’ उनले भने, ‘नेपाल आदिकालदेखि दक्षिण एसियामा एक मात्र स्वतन्त्र राष्ट्र रहन सफल मुलुक हो, अभिशप्त इतिहास मात्र होइन, नेपालको गौरवपूर्ण इतिहासलाई गोलमटोल र लुकाइएको पनि छ, त्यसको सत्यतथ्य यथार्थ रूपमा राखेर विश्वमा प्रचार गर्न आवश्यक छ ।’

उनले वर्तमान इतिहासको जगमा उभिएको हुन्छ र त्यही जगमा टेकेर भविष्यतर्फ अगाडि बढ्नु उपयुक्त हुने धारणा व्यक्त गरे । ‘हाम्रा वीर पुर्खा र अग्रजहरूकै सुझबुझपूर्ण योगदानकै कारण नेपाल एक स्वतन्त्र, सार्वभौम र अखण्ड राष्ट्रका रूपमा पाएका छौ,’ उनले भने ।

राष्ट्रपति पौडेलले आफ्नो शासनकालमा सामाजिक, आर्थिक र कानुनी क्षेत्रमा सुधार गरी सेनालाई आधुनिक बनाउने तथा सामाजिक सुधारका कार्यअन्तर्गत कैयौँ कुप्रथा र कुसंस्कारको अन्त्यमा योगदान दिएका राष्ट्रिय विभूति भीमसेन थापा एक प्रेरक व्यक्तित्व रहेकाे बताए । ‘भीमसेन थापाकै राष्ट्रवादी अडानका कारण नेपाल स्वतन्त्र रहन सक्यो,’ उनले भने ।

विभिन्न जातजाति, भाषाभाषी, संस्कृति र परम्परा रहेको हाम्रो देशमा सबै नेपालीबीच आपसी मित्रता, मेलमिलाप र सद्भाव कायम गरी राष्ट्रिय एकतालाई अझ सुदृढ गराउनु आजको आवश्यकता भएको उनको भनाइ थियो । सो अवसरमा राष्ट्रपति पौडेलले मृगेन्द्र सम्झना चिकित्सा गुठीलाई १ लाख १ हजार १ सय ११ रुपैयाँ राशिसहितको सम्मान एवं पुरस्कार प्रदान गरे ।