काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उपसभामुख इन्दिरा रानामगरले अमेरिकी दुतावासलाई भिसाका लागि अन्तर्वार्ताको मिति सार्न गरेको सिफारिसको पत्रको बारेमा थप बचाउ गरेको छ ।
बिहीबार बसेको रास्वपा केन्द्रीय समितिको बैठकपछि कार्यवाहक प्रवक्ता मनिष झाले उपसभामुखले लेखेको भनिएको पत्र अमेरिकी दुताबासमा दर्ता नै नभएको दाबी गर्दै सो पत्र कार्यान्वयनमा नै नगएको दाबि गरेका छन् ।
झाले पैसाको कारोबार नै नभएको बताउदै भने, ‘यो पत्र १८ महिना अगाडी लेखिएको रहेछ, हामीले आफ्नो स्रोतबाट बुझ्दा अमेरिकी दुताबासमा रजिस्टर पनि नभएको र त्यसैले गर्दा त्यसमा सिफारिस गरिए अनुसार कसैको काम नभएको पाइएको छ ।’
उनले संसद सचिवालय र राज्य व्यवस्था समितिमा परेको उजुरीमा के हुन्छ त्यसमा आफुहरु सचेत भएर बसेको बताए ।
उपसभामुख रानामगरले आफु बाहेक पाँच जना अमेरिकामा एक कार्यक्रममा जान अन्तर्वार्ताको समय तुरुन्त मिलाई दिने गरेको सिफारिसको पत्र सार्बजनिक भएपछि विवादमा परेकी थिइन् । उनले सो सिफारिस गरे बापत पैसा लिएको अपुष्ट दाबि समेत गरिएको छ ।
कर्णालीमा विशेष अभियान चलाउने
रास्वपा केन्द्रीय समितिको बैठकले कर्णाली प्रदेशमा अभियान विभागका प्रमुख विपिन आचार्यको नेतृत्वमा विशेष अभियान चलाउने निर्णय गरेको गरेकाे छ । आगामी भदौ दोस्रो साताबाट अभियान चलाउने तयारी रहेको प्रवक्ता झाले जानकारी दिए ।
बैठकले पार्टीको विधान परिमार्जनका लागि कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीको नेतृत्वमा ११ सदस्यीय कार्यदल गठन गरेको छ । कार्यदललाई ९० दिनको समय दिइएको छ ।
समसामयिक राजनीति, कार्यशैली लगायतका विषयमा समीक्षा गर्न क्लोज क्याम्प गर्ने रास्वपाको निर्णय छ भने अरनिको पाँडेलाई फेरि केन्द्रीय सदस्य मनोनित गरेको छ ।
प्रतिक्रिया