काठमाडौं । जारी पेरिस ओलम्पिकमा नेपाली ब्याडमिन्टन खेलाडी प्रिन्स दाहाल समूहचरणको पहिलो खेलमा पराजित भएका छन् ।
शनिबार राति सम्पन्न पहिलो खेलमा प्रिन्स डिफेन्डिङ च्याम्पियन भिक्टर एक्सल्सनसँग लगातार दुई सेटमा पराजित भएका हुन् । भिक्टरले पहिलो सेट २१-८ ले जितेका थिए भने दोस्रो सेट २१-६ ले जितेका थिए ।
समूह ‘पी’ मा रहेका प्रिन्सको यो हारसँगै अन्तिम १६ मा पुग्ने सम्भावना कमजोर भएको छ । उनले दोस्रो खेल आयरल्यान्डका नियात न्युयेनसँग २९ जुलाईमा खेल्ने छन् । यस्तै, समूहचरणको अन्तिम खेल इजरायलका मिसा जिल्बरम्यानसँग ३० जुलाईमा खेल्नेछन् । १६ वटा समूहका शीर्ष खेलाडीले अन्तिम १६ मा प्रवेश पाउनेछन् ।
स्यान्टु श्रेष्ठ पेरिस ओलम्पिकको प्रारम्भिक चरणमै पराजित
जारी पेरिस ओलम्पिकमा नेपालका टेबुल टेनिस खेलाडी स्यान्टु श्रेष्ठ प्रारम्भिक चरणमै पराजित भएका छन् । श्रेष्ठ पहिलो चरणको खेलमा सेनेगलका इब्राहिम डिएवसँग ४-० ले पराजित भएका हुन् । सेनेगलका डिएवले १२-१०, ११-३, ११-४, ११-५ को सेटमा जित हासिल गरेका हुन् ।
प्रतिक्रिया