काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू प्रधानमन्त्री बनेको दुई वर्ष पुग्न एक साता बाँकी छँदै राजीनामा दिने बताएका छन् ।
मंगलबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सचिवहरूलाई निर्देशन दिँदै प्रधानमन्त्री ओलीले कांग्रेस-एमालेबीचको सहमतिअनुसार प्रधानमन्त्री बनेको दुई वर्ष पुग्न एक साता बाँकी छँदै राजीनामा दिने बताएका हुन् ।
‘यो सरकार पनि कति दिन चल्ने हो र भनेर भ्रम फैलाउनेहरू छन्,’ उनले भने, ‘मैले सहमतिअनुसार दुई वर्ष पुग्न एक साता बाँकी छँदै राजीनामा दिएर कांग्रेस सभापति शेरबहादुर देउवालाई सत्ता हस्तान्तरण गरेर स्थिरताको सन्देश दिन्छु ।’
प्रधानमन्त्री ओलीले सरकार ढल्ने होइन, ढलबल पनि नहुने बताए । ‘यो सरकार ढल्ने त के ढलपल पनि हुँदैन । कर्मचारीहरूले ढुक्कले ठीक काम गर्नुस्, सरकारले त्यसको उत्तरदायित्व लिनेछ,’ उनले भने ।प्रधानमन्त्री केपी शर्मा ओलीले स्थिरताका लागि बनेको सरकारलाई असफल हुने छुट नरहेको बताए । ‘यो सरकारको काँधमा असाधारण जिम्मेवारी छ । यसलाई असफल हुने छुट छैन र कुनै हालतमा असफल हुन दिइँदैन,’ उनले भने ।
प्रधानमन्त्री ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकांक्षाबमोजिम जनतालाई प्रभावकारी सेवा दिन, भोकमरी, भ्रष्टाचार र कुशासन हटाउँदै विकासको गतिलाई तीव्रता दिन योजनाबद्ध काम गर्न निर्देशन दिए ।
प्रधानमन्त्री ओलीले कांग्रेस सांसद रमेश लेखकले संसदको रोष्ट्रमबाट सबै धोका खाएकाहरु एक भएर धोकाबाट सिक्न खोजे भने के हुन्छ विचार गर्नुभएको छ कि छैन भनेको सम्झिाए । यो गम्भीर प्रश्न भएपनि आफूहरु बदला लिनुपर्छ भनेर एक नभएको उनले बताए । देश बनाउन भरपर्दो, स्थिर र एक्सन ओरेन्टेड सरकार बनाएको भन्दै उनले भने, ‘शान्ति सुव्यवस्था कायम गरिछाड्ने, भ्रष्टाचार नियन्त्रण गरिछाड्ने, विकास अगाडि बढाइछाड्ने, सुशासन कायम गरिछाड्ने, जनतालाई सकेसम्म उपयुक्त ढंगले सेवा सुविधा उपलब्ध गराउने उद्देश्यले सरकार बनेको हो ।’
केही गरौं भन्ने प्रतिवद्धताका साथ सरकार बनेको भन्दै ओलीले व्यक्तिगत आग्रह पूर्वाग्रहलाई नहेर्ने बताए । ‘कुनै पनि भेदभाव हुँदैन भनेको काम गरे पनि उस्तै, नगरे पनि उस्तै चाहिँ हुँदैन, मूल्यांकन हुन्छ’, प्रधानमन्त्री ओलीले सचिवहरुलाई भनेका छन्, ‘तर मूल्यांकन आग्रहमा आधारित हुन्न ।’
प्रतिक्रिया