काठमाडौं । नेकपा माओवादी केन्द्रले आगामी निर्वाचनमा एक्लै चुनाव लड्नुपर्ने निश्कर्ष निकालेको छ । माओवादी केन्द्रको पदाधिकारी बैठकले गठबन्धन गरेर निर्वाचन लड्दा विचार, राजनीतिक कार्यदिशा र दृष्टिकोणहरु ओझेलमा परेको निश्कर्ष निकालेको हो । आज पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पदाधिकारीहरुको पश्नको जवाफ दिएका थिए ।
बैठकपछि प्रवक्ता अग्निप्रसाद सापकोटाले भने, ‘आगामी निर्वाचनमा एक्लै चुनाव लड्नेगरी तयारी गर्ने, जसले गर्दा हाम्रा विचार, राजनीतिक कार्यदिशा र दृष्टिकोणहरु जनतामा सोझै पुग्न सकोस् । पहिलाका अनुभवले हामीलाई के भयो भने गठबन्धन गर्दाखेरी कहीँ न कहीँ अरु पार्टीको पनि सन्तुलन मिलाउन पर्ने भएकाले हाम्रो विचार, सिद्धान्त, राजनीतिक कार्यदिशा, हाम्रो दृष्टिकोण लाने हामीलाई मौका मिलेको थिएन । हामीले के निश्कर्ष निकालेका छौं त भन्दाखेरी यो जनतामा जाने सुर्वण अवसर पनि हो ।’
प्रचण्डले एमालेसँग वृहत् वामपन्थी एकताको स्वच्छ भावना राखेर पछिल्लो समीकरण बनाए पनि प्रधानमन्त्री केपी शर्मा ओलीले धोका दिएको बताएका थिए । उनले पार्टीभित्र देखिएका समस्या, अन्तर्राष्ट्रिय, राष्ट्रिय परिस्थिति र भावी योजनाबारे बैठकलाई जानकारी दिएको प्रवक्ता सापकोटाले बताए ।
पदाधिकारी बैठकले माओवादी केन्द्रको स्थायी समितिको बैठक साउनको २५ गतेका लागि बोलाएको छ ।
साथै बैठकले प्रतिपक्षीको भूमिकालाई सशक्त रुपले निर्वाह गर्ने र सदनलाई प्रभावकारी बनाउने तथा गुणात्मक ढंगले देश र जनताका जल्दाबल्दा समस्याहरु र अघिल्लो सरकारले सुरु गरेको सामाजिक न्यायसहितको सुशान, समृद्धिका सवाललाई अझ खोज अनुसन्धानसहित गम्भीरतापूर्वक उठाउने निष्कर्ष निकालेको प्रवक्ता सापकोटाले जानकारी दिएका छन् ।
उनले भने, ‘हामीले लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था, समाजवादमा आधारित संविधान यी सबैको अपनत्व लिएर व्यवहारमा लागु गर्नुपर्छ । त्यसका लागि हामीले देशभक्त र अग्रगमन पक्षधरसँग मोर्चा बनाउनुपर्छ । कम्युनिस्ट पार्टीको पुनर्गठनका लागि निरन्तर काम गर्नुपर्छ । समाजवादी मोर्चालाई विस्तार गर्ने, कम्युनिस्ट पार्टीको पुनर्गठन गर्ने । समाजवादको सपना पुरा गर्न माओवादीले नेतृत्वदायी भूमिका खेल्ने छ ।’
प्रतिक्रिया