काठमाडौँ उपत्यकामा बाढी, ३६ जनाभन्दा बढीको उद्धार

काठमाडौँ उपत्यकामा बाढी, ३६ जनाभन्दा बढीको उद्धार



काठमाडौँ । भारी वर्षासँगै काठमाडौँका नदी–खोलाको बाढीबाट यहाँको जनजीवन प्रभावित भएको छ ।

प्रहरीले काठमाडौँ उपत्यकाबाट ३६ जनाभन्दा बढीको उद्धार गरेको जनाएको छ । काठमाडौँको कुलेश्वर र बल्खु क्षेत्र डुबानमा परेको थियो भने सो क्षेत्रबाट ११ जना तथा नयाँ बसपार्क क्षेत्रबाट एकजनाको उद्धार गरिएको प्रहरीले जनाएको छ । 

काठमाडौँको बल्खु, तरकारी बजार, बाफल, धोबिखोला करिडोर, सुन्दरीघाट क्षेत्रमा डुबान भएको थियो । काठमाडौँको फुटुङको नागपोखरीमा पहिरो खस्दा एक घरमा क्षति भएको छ । नयाँ बसपार्क, मितेरी पुल क्षेत्र पनि डुबानमा परेको छ।

त्यसैगरी ललितपुरको युएन पार्क क्षेत्रबाट डुबान प्रभावित दुई, सुन्दरीघाटबाट आठ, बालकुमारी पुलमुनिबाट एक, महालक्ष्मी नगरपालिका–८ चागाथलीबाट ७ र महालक्ष्मी नगरपालिका राममन्दिरबाट छजनाको उद्धार गरिएको छ ।

बाढीले भक्तपुरका समेत विभिन्न स्थान डुबानमा परेका छन् । सूर्यविनायक नगरपालिका क्षेत्रका बालकोटबाट सिरुटारसम्मका ७० भन्दा बढी घर डुबानमा परेका छन् ।

हनुमन्तेको बाढी बालकोट पुलहुदै बस्तीमा पसेपछि मेरिगोल्ड स्कुल, आसपासका बस्ती डुबानमा पर्नुका साथै बिहानदेखि ९ बजेसम्म बालकोट सडक अवरुद्ध भएको छ ।