कसैलाई जोगाउन प्रहरी संगठनको दुरुपयोग हुन दिन्न : गृहमन्त्री लेखक

कसैलाई जोगाउन प्रहरी संगठनको दुरुपयोग हुन दिन्न : गृहमन्त्री लेखक



काठमाडौं । गृहमन्त्री रमेश लेखकले प्रहरीको सरुवालाई सरुवाकै रुपमा बुझ्न आग्रह गरेका छन् । साथै उनले प्रहरी प्रशासन कसैलाई जोगाउन वा नजोगाउन दुरुपयोग हुन नदिने प्रतिवद्धता व्यक्त गरेका छन् ।

प्रतिनिधिसभाको बधुबार बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा केही सांसदले प्रहरी सरुवाबारे प्रश्न उठाएपछि जवाफ दिने क्रममा गृहमन्त्री लेखकले सरुवालाई सरुवाकै रुपमा लिन आग्रह गरे । ‘कर्मचारी सरुवा हुन्छ, सरुवालाई सुरुवाकै रुपमा बुझ्दा सहज हुन्छ’, उनले भने, ‘भर्खर २०/२१ जना सचिवको सरुवा भएको छ । ९१ जना न्यायाधीशको सरुवा भएको छ ।’

उनले प्रहरी संगठन र प्रशासनलाई दुरुपयोग भने हुन नदिने प्रतिवद्धता जनाए । ‘कसैलाई जोगाउन वा नजोगाउन प्रहरी संगठन र प्रशासनको दुरुपयोग हुन दिने छैन’, उनले भने ।

उनले नयाँ प्रहरी ऐनका लागि विधेयक ल्याइने बताए । प्रहरीको सरुवाका लागि मापदण्ड रहेकाे बताउँदै उनले त्यसमा अनियमितता नभएकाे बताए ।

पूर्वगृहमन्त्री रवि लामिछानेले मिडिया ट्रायल गृह मन्त्रालयका लागि घातक भएको बताएका छन् ।

उनले भने, ‘एउटा कुरा म क्लियर भन्छु, यो मिडिया ट्रायल गृह मन्त्रालयका लागि घातक छ, गृहमन्त्रीज्यू बच्नुहोला । तपाईंलाई पनि माया गर्ने मान्छेहरू छन्, मैले त धेरै काम गर्न सकिनँ, तपाईं सक्नुहोला । तर मिडिया ट्रायलबाट यो संगठन जोगाउनुहोला । प्रहरी संयन्त्रका लागि मिडिया ट्रायल हरिबिजोग छ । मिडिया ट्रायल प्रतिस्पर्धी रूपमा रहेका छन् । मिडियाले सुरुमा भन्छ- माहौल बनाइदिन्छु । त्यसपछि माहौल बनाउँदै जाँदा सम्पादकीयबाट लिएर प्रहरीको बारे नराम्रो समाचार लेखिदिन्छ । तर हाम्रो प्रहरी सक्षम छ, क्षमतावान् छ । उनीहरुसँग तागत छ र साहस पनि छ । ’

उनले प्रहरीलाई छानबिन गर्न दिए सम्पूर्ण कुरालाई अगाडि बढाएर छानबिन गर्न सक्ने बताए । साथै उनले सबै कारागारमा बजेटको कमी भएको भन्दै नुवाकोट कारागारका लागि पनि बजेट आवश्यक रहेको बताए । उनले भने, ‘छानबिनको लागि आवाज उठाउनु नराम्रो होइन । छानबिन प्रहरीले पनि राम्रोसँग गर्छ, हस्तक्षेप गर्नुभएन, काम गरेको मान्छेलाई काम गरेको छैन भन्दै ट्रायल हुन्छ ।’