बंगलादेशमा रहेका नेपाली विद्यार्थीलाई सतर्कता अपनाउन अनुरोध

बंगलादेशमा रहेका नेपाली विद्यार्थीलाई सतर्कता अपनाउन अनुरोध



काठमाडौं । बंगलादेशकाे ढाकास्थित नेपाली राजदूतावासले त्यहाँ रहेका नेपाली विद्यार्थीलाई सतर्कता अपनाउन सूचना जारी गरेको छ । आरक्षण विरोधी आन्दोलन पुन: चर्किएर हिंसात्मक बन्न थालेपछि दूतावासले सोमबार एक सूचना जारी गरेर नेपाली विद्यार्थीलाई आफू बसेको ठाउँमा सुरक्षित रहन अनुरोध गरेको हो ।

आन्दोलन हिंसात्मक बन्न थालेपछि अहिले बंगलादेश सरकारले कर्फ्यू आदेश जारी गरेको छ । दूतावासले त्यहाँ अध्ययनरत अधिकांश विद्यार्थी नेपाल फर्किइसकेको र बाँकी रहेका करिब ४ सय विद्यार्थी निरन्तर आफ्नो सम्पर्कमै रहेको जनाएको छ ।

साथै नेपाल फर्किन चाहने विद्यार्थीसहित अन्य नेपालीहरुले राजदूतावाससँग समन्वय गरेर सुरक्षा प्रबन्ध सुनिश्चित भइसकेपछिमात्रै यात्रा गर्नसमेत दूतावासले आग्रह गरेको छ ।

बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले आफ्नो राजीनामाको माग गर्दै व्यापक विरोध प्रदर्शन भइरहेका बेला राजधानी ढाका छोडेको उनीनिकट स्रोतले सोमबार जानकारी दिएको छ ।