बडिगाड पहिरो : ज्यान गुमाउनेको संख्या ११ पुग्यो, एक बेपत्ता

बडिगाड पहिरो : ज्यान गुमाउनेको संख्या ११ पुग्यो, एक बेपत्ता



म्याग्दी । बागलुङको बडिगाड गाउँपालिका पहिरोमा ज्यान गुमाउनेको संख्या ११ पुगेको छ । गाउँपालिका १० स्थित आरुपाटा पहिरोमा परेर ज्यान गुमाउनेको संख्या नौ र सोही गाउँपालिकाको वडा नम्बर ९ मा बाढी पहिरोमा परेर ज्यान गुमाउने दुई गरी ११ जनाको ज्यान गएको हो ।

विहीबार बिहान बेपत्ता सात वर्षिया मधु बुढा र साँझ १० वर्षीय मनोज बुढाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।

मङ्गलबार बिहान करिब साढे सात बजेको समयमा बस्ती माथिबाट आएको बाढी सहितको पहिरोले स्थानीय जोगबहादुर बुढाका छोरा बालिश्वरको दुई घर पुरिँदा पाँच जनाको घटनास्थलमै मृत्यु भएको थियो ।

एक जनाको उपचारको क्रममा साँझ निधन भएको थियो । बेपत्ता चारमध्ये एकको बुधबार र दुई जनाको विहिबार शव फेला परेको हो । ज्यान गुमाउने सबै आरुपाटा निवासी हुन् । मनोज र मधु सहित तीन वर्षीय आरुष, ७० वर्षीया मोतिदेबी कामी, ६ महिनाकी शिशु सिता विक, सात वर्षीया मालती बुढा, एघार वर्षीया सिता पुन, आठ वर्षीय अमल बुढा र ७८ वर्षीया जोगबहादुर बुढाको पहिरोमा परेर ज्यान गुमाएका छन् ।

पहिरोमा वेपत्ता सोही गाउँका ११ वर्षीय यमलाल बिक (सुमन) को खोजी भइरहेको प्रहरीले बताएकाे छ । घाइतेहरु मध्ये ३१ वर्षीया सिता थापा, १९ वर्षीया रिमा पुन र ४६ वर्षीया सङ्गीता बुढाको नेपाली सेनाको हेलीकप्टर मार्फत उद्धार गरी काठमाडौँ पुर्‍याइएर ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

यसैगरी मङ्गलबार सोही गाउँपालिकाको वडा नम्बर ९ मा बाढी पहिरोमा परेर दुई जनाको ज्यान गएको छ । मृत्यु हुनेमा दर्लिङ स्थित बलघाँस स्थित १४ वर्षीय विधान परियार र सोही वडाको काभ्राखर्कका २४ वर्षीय गङ्गाबहादुर बस्नेत हुन् ।

जिल्ला प्रशासन कार्यालय बागलुङका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालका अनुसार, वडा नम्बर ९ र १० का मृतकको स्थलगत पोष्टमार्टम गरी आफन्तलाई बुझाएर बुधबार सामुहिक दाहसंस्कार गरिएको छ ।

विहीबार भेटिएका मधु र मनोजको शव पनि स्थलगत पोष्टमार्टम गरी आफन्तलाई बुझाएर दाहसंस्कार गरिनेछ । धौलागिरि अस्पतालबाट मेडिकल अफिसर डा.छितिज रिजाल नेतृत्व टोलीले पोष्टमार्टम गरेको हो ।