कालीगण्डकी करिडोर : महभिरको पहिरोले दुर्घटनाको जोखिम

कालीगण्डकी करिडोर : महभिरको पहिरोले दुर्घटनाको जोखिम



म्याग्दी । बेनी–जोमसोम–कोरला सडकअन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका वडा नम्बर ७ महभिर क्षेत्रमा पहिरो खस्न थालेपछि जोखिम मोलेर यात्रा गर्नुपर्ने भएको छ ।

कालीगण्डकी किनारको पहाड छिचोलेर निर्माण भएको सडकको भिरबाट खस्ने पहिरोका कारण बेनी–जोमसोम सडकमा नियमित यातायात सञ्चालन प्रभावित हुनुका साथै दुर्घटनाको जोखिम पनि बढेको छ ।

स्तरोन्नतिको क्रममा रहेको बेनी–जोमसोम–सडक आयोजनाका सबइन्जिनियर सोहनजङ्ग कार्कीले महभिरमा यसपालिको बर्खामा नयाँ पहिरो सृजना भएको बताए ।

पानी पर्ने बित्तिकै भिरबाट सडकमा ढुङ्गा, लेदो र गेगरसहितको पहिरो खस्छ । मुस्ताङ, म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका बासिन्दाका साथै यो बाटो भएर यात्रा गर्नेलाई समस्या भएको छ ।