न्यूयोर्क । अमेरिकामा नेपालीहरुका लागि सर्वाधिक पुरस्कार राशीको फुटबल र भलिबल प्रतियोगिता अगस्ट अन्तिमदेखि सेप्टेम्बर दोस्रो सातासम्म सञ्चालन हुने भएको छ । इन्ट्रा-नेसनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेसन अफ अमेरिकाले प्रतियोगिता आयोजना गरेको हो । फाउण्डेसनले विगत ४ बर्षदेखि यी खेलहरु हरेक बर्ष गर्दै आएको छ ।
इन्ट्र कप फुटबल प्रतियोगिता सन् २०२४ को अगष्ट ३० देखि सेप्टेम्बर २ सम्म अमेरिकाको ओहायो राज्यको एक्रोन सहरमा र इन्ट्र कप भलिबल प्रतियोगिता सेप्टेम्बर १३ देखि १५ सम्म पेन्सिलभेनियाको ह्यारिसवर्गमा आयोजना हुने सोमबार आयोजित पत्रकार सम्मेलनमार्फत् जानकारी दिइयो । दुबै खेलहरुमा पुरुष र महिलातर्फका छुट्टा छुट्टै प्रतिस्पर्धा हुनेछ ।
हरेक बर्ष नेपाली मूलका उत्तर अमेरिका (क्यानडा र अमेरिका) मा बसोवास गर्ने युवा युवती एवं खेलप्रेमीहरुका लागि आयोजना गरेको फाउन्डेसनले जनाएको छ । फाउण्डेसनका अध्यक्ष डिल्ली अधिकारीका अनुसार प्रतियोगितामा भाग लिने खेलाडी र खेल समूह नेपाली मूलको एवं नेपाली भाषी हुनैपर्ने छ । यसमा अमेरिका र क्यानडा निवासी नेपालीभाषी खेलाडीले सहभागिता जनाउन पाउने छन् ।
पुरुष फुटबल युथतर्फ विजेताले १५ हजार अमेरिकी डलर, १० तोला सुनको रनिङ गोल्ड कप र उपविजेताले १० हजार अमेरिकी डलर पाउने छन् । ३० बर्षमाथिको फुटबल प्रतियोगितामा विजेताले १० हजार अमेरिकी डलर, उपविजेताले ६ हजार अमेरिकी डलर प्राप्त गर्ने छन् । त्यसैगरी पुरुष भेट्रान्सतर्फ (४० बर्षदेखि माथि) — विजेताले १० हजार अमेरिकी डलर र उपविजेताले ६ हजार अमेरिकी डलर प्राप्त गर्ने छन् ।
महिलातर्फ विजेताले ८ हजार अमेरिकी डलर, रनिङ गोल्ड कप र उपविजेताले ५ हजार अमेरिकी डलर प्राप्त गर्ने छन् । यी तीनवटै क्याटगोरीका प्रतियोगिताका बिजेताले १० तोला सुनसहितको रनिङ गोल्ड कप पनि जित्ने छन् ।
फाउण्डेसनका अनुसार भलिबलमा पुरुष विजेता टिमले १२ हजार अमेरिकी डलर र उपविजेताले ८ हजार डलर एवं महिलातर्फ विजेता टिमले ८ हजार र उपविजेताले ५ हजार अमेरिकी डलर पुरस्कार प्राप्त गर्नेछन् ।
प्रतिक्रिया