काठमाडौं । राष्ट्रियसभामा नेकपा (माओवादी केन्द्र)का सांसद झक्कुप्रसाद सुवेदीले नेपाली कांग्रेस र नेकपा (एमाले) मिलेर आउँदो निर्वाचनमा जान सुझाव दिएका छन् ।
बिहीबार राष्ट्रियसभा बैठकमा उनले नेपालमा हाल झन्डै दुईतिहाइको सरकार रहेको उल्लेख गरे । ०८४ मा पनि दुई पार्टी मिलेर निर्वाचन जितेर देश कब्जा गर्न भन्दै उनले कटाक्ष गरे । उनले अधिनायकवादतिर जाँदा श्रीलंका र हालै बंगलादेशको अवस्थाबारे पनि सोच्न आग्रह गरे ।
संविधान संशोधन जनताबाट निर्वाचिन कार्यकारी प्रमुखमा गर्न उनले सुझाव दिए । उनले पूर्ण समानुपातिक प्रणालीमा जान आग्रह गरे । समाजानुसारको संसद्को बनावट हुनुपर्ने उनले बताए ।
बैठकमा सांसद सुवेदीले भने, ‘नेपालमा अहिले करिब दुईतिहाइको सरकार छ । पहिलो पार्टी र दोस्रो ठूलो पार्टी सरकारमा छन् । दोस्रो पार्टीले सरकारको नेतृत्व गरिरहेको छ । तर, यो सरकारले के भन्छ भने विगतका सरकार अस्थिर भए, स्थिरताका लागि यो सरकार बनाएका हौँ, पहिलो र दोस्रो पार्टी मिलेर भनेको छ । म आग्रह गर्न चाहन्छु– किन पहिलो र दोस्रो पार्टी मिलेर सरकार बनाउनुहुन्छ, तपाईंहरू अर्को २०८४ को चुनावमा पनि दुईवटा पार्टी मिलेर जानुस् । त्यसपछि बराबर सिट बाँड्नुस् । एउटा सिट बाँकी रहन्छ, एमालेले मान्छ भने कांग्रेस एक नम्बर भएकाले कांग्रेसले उठाओस् । मान्दैन भने गाई र त्रिशूल गर्नुस् । सबै देश कब्जा गर्नुस् । तपाईंहरूलाई थाहा छ नि, श्रीलंकाका राजपाक्षेले पनि देश त्यसै गरेर कब्जा गरेका थिए । उनको हालत आज के भइरहेको छ । शेख हसिनाको बारेमा सबै जानकार नै हुनुहुन्छ ।’
प्रतिक्रिया