थामे बाढीमा फसेका ७ जनाको उद्धार, २० घर पुरिएको आशंका

थामे बाढीमा फसेका ७ जनाको उद्धार, २० घर पुरिएको आशंका

अर्काे सूचना नआएसम्म दूधकाेशी नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउनू : माैसम विभाग



काठमाडौं । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–४ स्थित थामेगाउँमा आएको आकस्मिक बाढीमा फसेका ७ जनाको उद्धार गरिएको छ । नेपाली सेनाले एक विज्ञप्तिमार्फत उनीहरूलाई शुक्रबार सुरक्षित स्थानमा सारिएको जनाएको छ ।

थामेगाउँमा शुक्रबार दिउँसो १ः४५ बजे आकस्मिक बाढी आएको खबर आएपछि सेना उद्धारका निम्ति पुगेको थियो । सेनाले १५ देखि २० घर पुरिएको हुन सक्ने पनि जनाएको छ ।

“थामेगाउँमा करिब १ः४५ बजे हिम पहिरो गएको खबर प्राप्त हुनासाथ नेपाली सेनाको उद्धार टोली परिचालित भई प्रभावित इलाकाबाट ६ जनाको उद्धार कार्य गरेको छ,” सेनाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “उक्त पहिरोमा परी १५ देखि २० घर पुरिएको भन्ने बुझिएको ।”

हालसम्म कुनै पनि मानवीय क्षतिको विवरण प्राप्त नभएको सेनाले जनाएको छ ।

जल तथा मौसम विज्ञान विभागले दूधकोशी नदी आसपासमा जोखिम बढेको भन्दै उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

विभागले सूचना निकालेर थामे आसपास ठूलो बाढी आएको जानकारी प्राप्त भएकाले सोलुखुम्बुको जोरसल्लेदेखि तल दूधकोशीको नदी तटीय क्षेत्रमा रहने बासिन्दालाई अर्को सूचना नआएसम्म उच्च सतर्कता अपनाउन र सुरक्षित रहन अनुरोध गरेको छ ।

त्यस्तै गृह मन्त्रालयको विपद् महाशाखा प्रमुख डा. भीष्मकुमार भुसालले सोलुखुम्बुकाे थामे क्षेत्रबाट बाढीले थामे गाउँमा ठूलो क्षति पुर्‍याएको र तल्लो तटीय क्षेत्रहरू कुइभिर, दियाले, पोखरे, भदौरे, रवुवाघाट, तलुवा, मोली, वाक्सा, जयरामघाटसम्म सतर्कता रहन अनुरोध गरेका छन् ।

सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिकाले दूधकोशी नदी आसपासका क्षेत्रहरू अति जोखिममा रहेको भन्दै दूधकोशी नदी किनारमा बसोबास गर्ने बासिन्दालाई सचेत र सुरक्षित ठाउँमा जान अपिल गरेको छ ।