काठमाडौं । क्यानडाको अटवास्थित नेपाली दूतावासले अध्ययनका लागि क्यानडा नआउन विद्यार्थीलाई आग्रह गरेको छ । रोजगारी र डेरा पाउन मुस्किल रहेको भन्दै अध्ययनका लागि जाने तयारीमा रहेका विद्यार्थीलाई दूतावासले सचेत गराएको हो ।
दूतावासले विज्ञपितमार्फत विद्यार्थीलाई ७ बुँदे सुझाव दिएको छ । विश्वभरबाट क्यानडा आउने विद्यार्थीको संख्या बढेकाले डेरा र रोजगारी पाउन कठिन रहेको विज्ञप्तिमा उल्लेख छ । दूतावासले डेरा र रोजगारीको ग्यारेण्टी गरेर मात्र क्यानडा आउन पनि सुझाएको छ ।
दूतावासले तीन महिनाअघि पनि यस्तै विज्ञप्ति जारी गर्दै क्याडना आउने बित्तिकै रोजगारी पाइने भ्रममा नपर्न भनेको थियो । दूतावासले कलेज रहेको सहर, खर्च लगायत विषयका पूर्वजानकारी लिन पनि सुझाव दिएको छ । केही कलेजले अतिरंजित प्रचार गर्ने गरेको र त्यसको विश्वास गर्दा विदेशी विद्यार्थी समस्यामा पर्ने गरेको विज्ञप्तिमा छ ।
क्यानडा जानुअघि त्यहाँस्थित आफन्त, साथीभाइ, पूर्वविद्यार्थीका सामाजिक सञ्जालका ग्रुप, सम्बन्धित सहरका एनआरएनएलगायत प्रवासी नेपालीका संघसंस्थाका साथ रोजगारीका सम्भावनाबारे समेत जानकारी लिन दूतावसाले सुझाव दिएको छ ।
विद्यार्थीलाई स्थानीय हावापानी, जीवनशैली, भान्साको कामको तौरतरिका सबै जानकारी लिएर आउन पनि भनिएको छ । अभिभावकलाई अध्ययन, आवास र खाने बस्ने खर्चको उचित प्रबन्ध मिलाएर मात्र विद्यार्थी पठाउन दूतावासको सुझाव छ ।
प्रतिक्रिया