बेचन झालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश

बेचन झालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश



काठमाडौं । जिल्ला अदालत काठमाडौंले बेचन झालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएको छ ।

आइतबार जिल्ला अदालत काठमाडौंका न्यायाधीश तीर्थराज केसीको इजलासले नक्कली भुटानी शरणार्थी प्रकरणका अभियुक्त झालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश गरेको हो ।

झाविरुद्ध गत साउन २९ मा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले मुद्दा दायर गरेका थियो । साउन ३० देखि नै बयान थालेको अदालतले ३२ गते सुनुवाइ सुरु गरेको थियो ।

शुक्रबार झाको तर्फबाट वरिष्ठ अधिवक्ता कृष्णप्रसाद सापकोटा, महादेव यादव, अधिवक्ता पुरुषोत्तम अर्याल र मणिराम उपाध्यायले बहस गरेका थिए ।

जाहेरवालातर्फका कानुन व्यवसायीले बहस गर्न खोजेपछि न्यायाधीश केसीको इजलासमा मुद्दा हेर्दाहेर्दैमा राखिएको थियो ।

आइतबार जाहेरवालातर्फको बहस सकिएलगत्तै उनलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश भएको हो ।

अदालतको आदेशपछि झालाई केन्द्रीय कारागार सुन्धानरा पठाइएको जिल्ला प्रहरी परिसर काठमाडौंले जानकारी दिएकाे छ ।

झालाई चार वटा कसुरमा मुद्दा दायर गरिएको थियो । ठगी, लिखत कीर्ते, राज्यविरुद्धको अपराध र संगठित अपराधको कसुरमा मुद्दा दायर भएको थियो । भारतीय समेत नागरिकता रहेको दाबी गरिएका झाको नेपाली ठेगाना भने पर्साको वीरगञ्ज उपमहानगरपालिका–७ छ ।