काठमाडौँ । भारतको उत्तरखन्ड राज्यको केदारनाथ नजिकै ४ नेपाली मजदुरको मृत्यु भएको खबर छ । बिहीबार राति परेको अविरल वर्षाका कारण केदारनाथ नजिक रहेको वर्षाको पानी जम्मा गर्ने ताल (खाट गडेरे) नजिकै पहिरोमा पुरिएर ४ जना मजदुरको मृत्यु भएको भारीतय सञ्चारमाध्यम हरुले जानकारी दिएका छन् ।
मृतक चारै जना नेपाली नागरिक रहेको पनि भारतीय सञ्चारमाध्यमहरुले जानकारी दिएका छन । मृतकहरूलाई तुलबहादुर, पूर्ण नेपाली, किशन परियार र चिकु बोहराको रुपमा पहिचान गरिएको छ ।
‘बिहीबार राति करिब १:२० बजे भारी वर्षाका कारण फाटा हेलिप्याड नजिकै पर्ने खाट गडेरे नजिक चारजना पहिरोमा पुरिएको सूचना प्राप्त भएको थियो ।’ जिल्ला विपद् व्यवस्थापन अधिकृत नन्दनसिंह राजवारले भने ।
सूचना पाएलगत्तै राहत र उद्धार कार्यका लागि उद्धार टोली घटनास्थलमा पठाइएको थियो । डोलियादेवी सडक अवरुद्ध हुँदा एसडीआरएफ टोली करिब दुई किलोमिटर पैदल हिँडेर घटनास्थलमा पुगेको राजवारले भनेका छन् । मुसलधारे वर्षाका कारण घटनास्थलसम्म जेसीबी मेशिन पुर्याउन नसकिने स्थिति थियो ।
यस्तोमा एसडीआरएफका जवानहरूले खनेर चार वटै शवलाई भग्नावशेषबाट निकाले । शवलाई रुद्रप्रयाग लगिने समाचारहरुमा उल्लेख गरिएको छ ।
प्रतिक्रिया