केपी ओलीको प्रथम महिला प्रधानमन्त्री विद्या कि आरजु ?

केपी ओलीको प्रथम महिला प्रधानमन्त्री विद्या कि आरजु ?

विद्या प्रतिनिधिसभा सदस्य होइनन्, उनलाई प्रतिनिधिसभामा ल्याउनुपर्छ । यदि आरजुलाई प्रधानमन्त्री बनाउने हो भने संसदीय दलको नेतामा निर्वाचित हुनुपर्छ, यो सजिलै हुने काम होइन । त्यसैले केपी ओलीको प्रथम महिला प्रधानमन्त्री बन्ने सम्भावना यी दुवैको तत्काल न्यून देखिन्छ ।



काठमाडौं । प्रधानमन्त्री केपी ओलीले ढिलोमा एक वर्षभित्र महिला प्रधानमन्त्री बनाउन चाहेको बताएका छन् । शनिबार राजधानीमा आयोजित एक कार्यक्रममा उनले यस्तो इच्छा व्यक्त गरेका हुन् । त्यसका लागि केही तयार गर्नुपर्ने उनको भनाइ थियो ।

प्रधानमन्त्री ओलीले यस्तो अभिव्यक्ति दिइरहँदा प्रथम प्रधानमन्त्री बन्ने पात्रको अनुमान लगाउन सुरु भएको छ । ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी वा कांग्रेस नेतृ आरजु राणा देउवामध्ये एकजनालाई प्रधानमन्त्री बनाउने तयारी गरेको धेरैले अनुमान लगाए । एक वर्षभित्र यी दुई महिलामध्ये एकजना प्रधानमन्त्री बन्ने सम्भावना रहेको राजनीतिक विश्लेषकहरु पनि अनुमान लगाउन थालेका छन् ।

दुई कार्यकाल राष्ट्रपति भएर अवकाश लिएकी भण्डारी पछिल्लो समय मदन भण्डारी फाउण्डेशनको कभरमा एमाले राजीतिमा सक्रिय छिन् । उनी राजनीतिमा फर्किन्छन् भन्ने अड्कल त्यत्तिबेला लगाइएको थियो, जति बेला उनले नेकपा एमालेको सदस्यता नवीकरण गरिन् । त्यसयता एमालेको एउटा समूहले आयोजना गरेका कार्यक्रममा उनी सहभागी हुँदै आएकी छन् । भण्डारीको सक्रियताले ओलीसमेत झस्किएका थिए । एउटा कार्यक्रममा उनले अझै २० वर्ष एमालेको नेतृत्व लिने अरुले नचियाए पनि हुने अभिव्यक्ति दिएका थिए । तर, प्रतिनिधिसभा सदस्य नरहेकी भण्डारीलाई कम्तिमा संसदको यो कार्यकालभित्र प्रधानमन्त्री बनाउन सम्भव काहिँ कतैबाट देखिँदैन ।

ओलीले दुई वर्षपछि कांग्रेस सभापति शेरबहादुर देउवालाई सत्ता हस्तान्तरण गर्ने समझदारीमा हस्ताक्षर गरेका छन् । राजनीतिक बजारमा ओलीपछि देउवा पत्नी आरजु राणा देउवा नेतृत्व लिने पृष्ठभूमि तयार पारिँदैछ । गत महिना एक सार्वजनिक कार्यक्रममा कांग्रेस पूर्वमहामन्त्री डा. शशांक कोइरालाले नेपालमा अब महिला प्रधानमन्त्री बन्ने अभिव्यक्ति दिएका थिए । ओलीले देउवाको ठाउँमा आरजुलाई प्रधानमन्त्री बनाउन चाहेको हुन् वा होइनन् भन्ने स्पष्ट छैन ।

कांग्रेसमा प्रधानमन्त्री बन्न संसदीय दलको नेता हुनैपर्छ । आरजुलाई कांग्रेसमा संसदीय दलको नेतामा स्वीकार गर्ने सम्भावना एकदमै न्यून छ । यदि आरजुलाई कांग्रेसमा संसदीय दलको नेता बनाउने खेल सुरु भयो भने आन्तरिक पार्टी राजनीतिले नयाँ मोड लिने निश्चित छ । यस अवधिमा कांग्रेसले महाधिवेशनसमेत गर्नुपर्ने भएकाले पार्टीको आन्तरिक राजनीतिले नयाँ मोड लिनेछ ।

यी दुई बाहेक केपी ओलीसँग प्रधानमन्त्री बन्ने महिला पात्र सिनमा आएको छैन । आफ्नो दुई वर्षे कार्यकालभित्रै एमालेले पनि महाधिवेशन गर्नुपर्नेछ । ओली पुनः सर्वसम्मत अध्यक्ष बन्ने हो भने भण्डारी समूहलाई खुशी पार्नैपर्छ । विद्यालाई प्रधानमन्त्री बनाइयो भने पार्टीमा पुनः अर्को कार्यकालका लागि ओली सर्वसम्मत अध्यक्ष बन्ने छन् ।

यदि विद्यालाई प्रधानमन्त्री बनाउने हो भने कुनै एउटा निर्वाचन क्षेत्र खाली गराएर प्रतिनिधिसभा सदस्यमा निर्वाचित गरेर ल्याउनुपर्ने हुन्छ । त्यसका लागि उनले एक वर्षको समय लिन खोजेको अनुमान राजनीतिक वृत्तमा गरिएको छ ।