ब्राजिलको साओपाउलो अन्तर्राष्ट्रिय विमानस्थलमा १ सय नेपाली अलपत्र

ब्राजिलको साओपाउलो अन्तर्राष्ट्रिय विमानस्थलमा १ सय नेपाली अलपत्र


ग्लोब नेपाल
81
Shares

काठमाडौं । ब्राजिलको साओपाउलो अन्तर्राष्ट्रिय विमानस्थलमा १ सय जना नेपाली अलपत्र परेका र उनीहरुमा स्वास्थ्य समस्या देखिन थालेको छ । उनीहरु १३ अगष्ट देखि विमानस्थलमा अलपत्र परेका हुन् । गैरआवासीय नेपाली संघ चिलीका बरिष्ठ उपाध्यक्ष सरोज अर्यालउपलब्ध गराएको जानकारी अनुसार अलपत्र परेका मध्ये १ जना विरामी परेपछि स्थानीय अस्पतालमा भर्ना भएका छन् ।

ब्राजिल सरकारले शरणार्थी सम्बन्धी नीति परिवर्तन गर्दा ६ सय ६६ भन्दा बढी एशियाली आप्रवासीहरू विमानस्थलमा अलपत्र परेका हुन् । अर्यालका अनुसार विमानस्थलमा रहेका नेपालीहरु भोकै र खाली भुइँमा सुत्न बाध्य छन् ।

उनीहरूलाई पर्याप्त खाना, पानी वा ओढ्ने बिना नै भुइँमा सुत्न बाध्य पारिएको छ। प्रतिकूल परिस्थितिले उनीहरूको स्वास्थ्यमा गम्भीर असर पारेको छ, जसमा हालैको रिपोर्ट अनुसार एक घाना र चेचन्नियन आप्रवासीको मृत्यु भएको पुष्टि भएको छ ।

अर्यालका अनुसार गैरआवासीय नेपाली चिली र नेपाली दूतवास ब्राजिलको संयुक्त प्रयासमा उनीहरुको उद्धारको प्रयास भइरहेको छ । ब्राजिलस्थित नेपाली राजदूत निर्मलराज काफ्लेले नेपाल सरकारसँग समन्वयन गरेर उद्धारको काम थालेको बुझिएको छ ।