नेपाल वायुसेवा निगमका तीन जहाज ग्राउण्डेड हुँदा अन्तर्राष्ट्रिय उडान प्रभावित

नेपाल वायुसेवा निगमका तीन जहाज ग्राउण्डेड हुँदा अन्तर्राष्ट्रिय उडान प्रभावित



काठमाडौं । नेपाल वायुसेवा निगमका तीन वटा जहाज ग्राउण्डेड हुँदा उडान प्रभावित भएको छ । वायुसेवा निगमसँग भएका चार वटा जहाजमध्ये ३ वटा जहाज ग्राउण्डेड हुँदा दुई दिनदेखि अन्तर्राष्ट्रिय उडान प्रभावित भएको हो ।

निगमको न्यारोबडी मंगलबार ‘ग्राउण्डेड’ हुँदा काठमाडौँ, हङकङ, दोहा र दुबईमा ८ सय हाराहारी यात्रु प्रभावित भएका छन् । निगमको न्यारोबडी जहाजमा हाइड्रोलिकमा आएको समस्याका कारण सबै उडानहरू रुद्ध हुँदा यात्रुहरू प्रभावित बन्न पुगेका हुन् । अन्तर्राष्ट्रिय उडानका लागि निगमसँग रहेका ४ जहाजमध्ये ३ जहाज ‘ग्राउण्डेड’ भएका छन् ।

न्यारोबडी ‘सगरमाथा’मा हाइड्रोलिकमा समस्या देखिएसँगै नागरिक उड्डयन प्राधिकरणले जहाज ग्राउण्डेड गराएको थियो । न्यारोबडी ‘सगरमाथा’मार्फत १५६ यात्रु लिएर काठमाडौँबाट हङकङ उड्ने जहाज ग्राउण्डेड भएपछि यात्रुहरूलाई दिनभर र्‍याडिसनकाे लाउन्जमा राखेर अन्य विदेशी वायुसेवाको टिकट किनेरै गन्तव्यमा पठाउने प्रबन्ध मिलाएको निगमका प्रवक्ता रमेश पौडेलले बताए ।

उनले निगमले हङकङ उड्ने र आउने दुवैतर्फका यात्रुलाई निगमले अलपत्र नपारेको भन्दै अन्तर्राष्ट्रिय मापदण्डअनुसार होटलमा व्यवस्थापन गरिएको तथा अन्य विदेशी जहाजको टिकट काटेर यात्रुहरूलाई गन्तव्यमा पुर्‍याइएकाे जानकारी दिए ।

उनले भने, “जहाज फेरि ग्राउण्डेड हुँदा केही समस्या परेको छ । तर यात्रुहरूलाई निगमले अलपत्र बनाउने काम गरेको छैन । जिम्मेवार अन्तर्राष्ट्रिय एयरलाइन्सको मूल्य मान्यता हुन्छ । यात्रुहरूलाई होटलमा बासको व्यवस्था गरी अन्य वायुसेवाबाट उडानको व्यवस्था गरी गन्तव्यमा पुर्‍याउने काम गरिरहेका छौँ ।”

प्रवक्ता पौडेललका अनुसार अन्तर्राष्ट्रिय नियमअनुसार विदेशमा अलपत्र पर्ने यात्रुलाई पाँचतारे होटलमा राख्नुपर्ने व्यवस्थाअनुसार निगमले नियम अनुसार यात्रुहरूलाई होटलमा राखेको उल्लेख गरे । यसरी निगमले अन्तिम समयमा उडान रुद्ध हुँदा अन्तर्राष्ट्रिय मापदण्डअनुसार यात्रुहरूको व्यवस्थापन र टिकटमा मंगलबारको उडानबाट एक करोड रुपियाँ गुमाउन पुगेको छ ।