टीआरसी विधेयक पारित भएकोमा अमेरिका सहित ९ देशले गरे स्वागत

टीआरसी विधेयक पारित भएकोमा अमेरिका सहित ९ देशले गरे स्वागत



काठमाडौं । बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोगसम्बन्धी (टीआरसी) विधेयक दुवै सदनबाट पारित भएकोमा अमेरिका, यूरोपियन युनियन (ईयू) सहित विभिन्न देशले स्वागत गरेका छन् ।

हालै बेपत्ता पारिएका व्यक्तिको खोजी तथा सत्य निरुपण तथा मेलमिलाप आयोग सम्बन्धी ऐन नेपालको संघीय संसदको दुवै सदनले पारित गरेका थिए र बिहीबार राष्ट्रपतिबाट प्रमाणीकरण भइसकेको छ ।

अमेरिका, स्विट्जरल्यान्ड, अस्ट्रेलिया, बेलायत, नर्वे, जापान, फिनल्यान्ड, जर्मनी, फ्रान्स र युरोपियन युनियनले स्वागत गरेका हुन् । उनीहरूले आज संयुक्त वक्तव्य निकालेर पीडितको हितका लागि नेपाल सरकारलाई मद्दत पुर्‍याउने सम्भावित संयन्त्रहरूको खोजी गर्ने प्रतिबद्धतासमेत जनाएका छन् ।

नेपालको इतिहासको यो खण्डलाई सफल निष्कर्षमा पुर्‍याउन सबै सरोकारवाला एकजुट भएर लाग्नुपर्ने बेला आएको वक्तव्यमा उल्लेख छ । ‘निर्णय प्रक्रियाहरूमा पीडितको निरन्तर सहभागिताले सत्य निरुपण तथा मेलमिलाप ऐनको प्रभावकारी कार्यान्वयनमा सहयोग पुर्‍याउनेछ’, संयुक्त वक्तव्यमा भनिएको छ ।

९ देश र युरोपियन युनियनले सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगलाई प्रभावकारी रूपमा काम गर्न सघाउन के-कस्ता आवश्यकताहरू छन् भन्ने विषयमा नेपाल सरकारबाट जान्न तत्पर रहेको पनि उल्लेख गरेका छन् । ‘नेपालको इतिहासको यस खण्डलाई सफल निष्कर्षमा पुर्‍याउन सबै सरोकारवालाहरू एकजुट भएर लाग्नुपर्ने बेला आएको छ’, संयुक्त विज्ञप्तिमा भनिएको छ ।