रामकुमारी अब पार्टीभित्रको बलियो प्रतिपक्ष

रामकुमारी अब पार्टीभित्रको बलियो प्रतिपक्ष



विद्यार्थी राजनीतिबाट खारिदै संघीय मन्त्रीसमेत बनेकी नेकपा एकीकृत समाजवादी पार्टीकी नेतृ रामकुमार झाँक्री यो साता पनि विशेष चर्चामा रहिन् । चर्चामा रहनुको कारण पार्टी पदाधिकारी निर्वाचनमा पराजित हुनु हो । पार्टी पदाधिकारीमा को–को निर्वाचित भए, त्यसले खासै चर्चा पाएन । त्यत्ति मात्र होइन, रामकुमारीभन्दा सिनियर नेताहरु विरोध खतिवडा, रामचन्द्र झा, जीवनराम श्रेष्ठको पराजयले त झन् कुनै महत्व पाएन । तर, महिला उपाध्यक्ष पदमा रामकुमारी पराजित भएको विषय सामाजिक सञ्जालमा भाइरल भयो ।

२०७८ भदौ २ गते पार्टीका वर्तमान अध्यक्ष माधवकुमार नेपालको हात घिसारेर निर्वाचन आयोगमा दल दर्ता गराउँन जाँदाको तस्बिर सामाजिक सञ्जालमा भाइरल बनेको थियो । भृकुटीमण्डपको कार्यक्रममा मुखमा टेप, मन्त्री पद त्याग्नुपर्दा कार्यक्रममा झारेका आँशु र गैरआवासीय नेपाली (एनआरएनए) को एउटा कार्यक्रममा दिएको आक्रमक अभिव्यक्तिले रामकुमारीको परिचय नेपालीहरु माझ विश्वव्यापी रुपमा बनेको थियो । हुन त राजनीतिमा चासो राख्नेहरुले उनलाई ०६२।०६३ को आन्दोलनदेखि नै चिन्दै आएका छन् ।

यी परिघटनाले रामकुमारीको राजनीतिक उचाइँमा श्रीवृद्धि भएको थियो । अन्य पार्टीका उनका समकालीन राजनीतिकर्मीसँगको टक–सोहरुमा पनि रामकुमारीको प्रस्तुति खरो सुनिन्थ्यो, देखिन्थ्यो । पछिल्लो समय छोराको साथमा गैरराजनीतिक कार्यक्रममा पनि उनी देखिने गरेकी छिन् । विशेषतः खेलकुद र सांगीतिक कार्यक्रममा उनको सहभागिता सञ्चारमाध्यमको केन्द्रविन्दू बन्ने गथ्र्यो ।

नेकपा एमालेबाट फुटाएर नेकपा एकीकृत समाजवादी पार्टी दर्ता गर्न पार्टी अध्यक्ष नेपाललाई सहयोग गरेवापत उनलाई सचिवको जिम्मेवारी दिइएको थियो । आफ्नो कार्यकालभरि उनीबाट कहिले पनि सन्तुष्टिको अभिव्यक्ति सुनिएन । ‘आफू खरानी भएर अर्काको पार्टी सभापतिलाई प्रधानमन्त्री बनाउनु परेको छ, सबै कुरामा कम्प्रमाइज गर्न सकिँदैन’ भन्ने उनको अभिव्यक्ति त्यसबेला निक्कै चर्चामा आएको थियो । पार्टीविरुद्ध उनले दिएका अभिव्यक्ति सधैं समाचारका हेडलाइन बन्थे । गत वर्ष एमालेले आयोजना गरेको चियापान कार्यक्रममा देखापरेपछि त झलनाथ खनाल र रामकुमारी एमालेलेमा प्रवेश गर्न लागेको हल्लासमेत चलाइएको थियो ।

रामकुमारीलाई पार्टीभित्र अन्याय भयो भन्ने स्वर ठूलो छ । तर निर्वाचन प्रकृयाबाट पदाधिकारी छनोट भएकाले तीतो पोखिहाल्ने वातावरण बनेको भने छैन । यी कुरा राम्रोसँग बुझेकी रामकुमारीले अब राजनीति कसरी अघि बढाउलिन् भन्ने कुराले युवामाँझ छलफलको विषय बनेको छ ।

अहिले जुन धरातलमा टेकेर उनी राजनीति गरिरहेकी छन्, त्यसमा धेरैले उज्जवल भविष्य देखेका छैनन् । पछिल्लो समय बाग्लुङमा उनको राजनीतिक दलको जिल्ला कमिटी नै एमालेमा समाहित भयो । यस्ता घटना दोहोरिरहे भने पार्टीको भविष्य झन् दया लाग्दो बन्दै जाने निश्चित छ । तर, राजनीति हो, सम्भावना अनेक हुन्छन्, उनको राजनीतिक दलले पनि फड्को मार्दैन भनेर अहिले किटान गर्नु हतार हुन्छ ।

राजनीतिक दल बलियो बन्न पार्टीभित्र पनि प्रतिपक्ष हुनुपर्छ भन्ने कुरा सिद्ध हुँदै गएको छ । पार्टीभित्रको प्रतिपक्षले नेतृत्वलाई तानाशाही हुन रोक्छ नै, सुदृढ आन्तरिक लोकतन्त्र र पार्टीलाई नयाँ मोड दिनसमेत आवश्यक हुँदो रहेछ भन्ने सिद्ध भइरहेको छ ।

नेपाली कांग्रेसभित्र बहुमतमा रहेका सभापति शेरबहादुर देउवालाई महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले चुनौति नदिने हो भने यसरी सन्तुलित हुने थिएन । नेकपा माओवादी केन्द्रमा यतिबेला आफैले तोकेको उपमहासचिव जर्नादन शर्माले अध्यक्ष पुष्पकमल दाहाललाई सानै भएपनि चुनौती दिएका छन् । शर्माले नेतृत्व छाड्न विकल्प प्रस्तुत गरेपछि अध्यक्ष दाहाल तरंगित छन् । अहिलेसम्म पनि उनको वेचैनी सार्वजनिक कार्यक्रमहरुमा देखिदै आएको छ ।

एमालेमा थोरै फरक छ, अध्यक्ष केपी शर्मा ओलीलाई चुनौति दिएका भीम रावल किनाराकृत भएका छन् । अध्यक्ष ओलीले नेतृत्वमा आँखा लगाउनेलाई छेउसम्म ढिम्कीन दिएका छैनन् । समय सधैं उनको पक्षमा रहिरहन्छ भन्ने छैन । उनीप्रतिको असन्तुष्टि भुसको आगोझै भित्रभित्रै दन्किरहेको छ । सत्तामा बसेर महाधिवेशन गराउँदा पनि अहिलेको परिवेशमा ओली पराजित हुने सक्ने वातावरण बन्दै गएको सहजै अनुमान गर्न सकिन्छ ।

एकीकृत समाजवादीलाई पनि बलियो र सशक्त बनाउने हो भने विद्रोहको पर्याय बनेकी रामकुमारी झाक्रीले पार्टीभित्र प्रतिपक्षको भूमिका निर्वाह गर्नुपर्छ । पार्टीले बाटो बिरायो भने खबरदारी गर्नसक्नु पर्छ । पार्टी मुलधारसँग असन्तुष्टहरुलाई समेट्दै पार्टी भित्र प्रभावशाली प्रतिपक्षको नेता बन्न सक्ने हो भने भोलिको दिनमा नेतृत्व गर्ने अवसर उनीसम्म नआउला भन्न सकिन्न । पार्टी हाक्न सक्ने आँट र क्षमता रामकुमारीमा छ भन्ने नेपाली राजनीतिले पहिचान गरिसकेको छ । त्यसमा उनी कति खरो रुपमा उत्रिन सक्छिन् भन्ने चाँहि आगामी दिनले देखाउने नै छ ।