पुटिनले अन्तर्राष्ट्रिय फौजदारी अदालतको सदस्य देश मंगाेलियाको भ्रमण गर्दै, पक्राउ पर्ने सम्भावना कति ?

पुटिनले अन्तर्राष्ट्रिय फौजदारी अदालतको सदस्य देश मंगाेलियाको भ्रमण गर्दै, पक्राउ पर्ने सम्भावना कति ?



काठमाडौँ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी) को सदस्य देश मंगाेलियाको भ्रमण गर्ने भएका छन् ।

नेदरल्यान्ड्सकाे हेगमा रहेको संयुक्त राष्ट्रसङ्घको अन्तर्राष्ट्रिय फौजदारी अदालतले पुटिनविरुद्ध पक्राउ पूर्जी जारी गरेको छ । आईसीसीका सदस्य देशहरूले आफ्नो देशमा आएका दोषीलाई पक्राउ गर्नुपर्ने बाध्यकारी नियम छ । तर पुटिन भने भोलि मंगाेलियाको भ्रमणमा जान लागेकाे र पक्राउको कुनै सम्भावना नरहेको कतारी सञ्चारमाध्यम अलजजीराले जनाएको छ ।

युक्रेनमा आक्रमण गरेर सयौं मानिसको हत्या र पूर्वाधारमा आक्रमण गरेको आरोपमा गएको वर्षको मार्चमा आईसीसीले पुटिनविरुद्ध पक्राउ पूर्जी जारी गरेको थियो । पक्राउ पूर्जी जारी भएपछि पुटिन पहिलो पटक आईसीसीका सदस्य देशको भ्रमणमा जान लागेका हुन् ।

रुसी राष्ट्रपतिको कार्यालयका प्रवक्ता दिमित्री पेस्कोभले भ्रमणको बारेमा कुनै चिन्ता नभएको बताएकाे रुसी समाचार संस्था तासले जनाएको छ । मंगाेलियाका राष्ट्रपति उखना खुरेलसुखको निमन्त्रणामा भ्रमण हुन लागेको हो । ‘हामी मंगाेलियाका साथीहरूसँग अद्भुत संवाद गर्छाैं’, पेस्कोभले भनेका छन् । तर पुटिन युद्ध अपराधी हुन् भन्नेमा मंगाेलिया सचेत रहेको र पक्राउ पर्नेमा आशावादी रहेको युक्रेनी विदेश मन्त्रालयले जनाएको छ ।

पक्राउ पूर्जी जारी भएदेखि पुटिनले अहिलेसम्म आईसीसी सदस्य देशहरुमा यात्रा गरेका छैनन् । गएको वर्ष दक्षिण अफ्रिकामा भएको जी सेभेन सम्मेलनमा भाग लिने तयारी गरे पनि दक्षिण अफ्रिकाले पक्राउ गर्नुपर्ने बाध्यताबाट बच्न पुटिनलाई सम्मेलनमा नआइदिन आग्रह गरेको थियो । बारम्बारको आग्रहपछि पुटिन जी सेभेन सम्मेलनमा गएका थिएनन् ।