एकीकृत समाजवादी प्रवेश गर्ने हल्ला मात्रै हो : भीम रावल

एकीकृत समाजवादी प्रवेश गर्ने हल्ला मात्रै हो : भीम रावल



अछाम । पूर्व उपप्रधानमन्त्री तथा नेकपा एमाले पूर्व उपाध्यक्ष डा. भीम रावलले आफू समाजवादी पार्टीमा जाने कुरा हल्ला मात्र भएको बताएका छन् । गृह जिल्ला अछाम पुग्नुभएका रावलले प्रेस चौतारी अछामले आयोजना गरेको पत्रकार सम्मेलनमा आफूलाई समाजवादी पार्टी प्रवेशका लागी छलफलमा रहेको भन्ने हल्ला निराधार भएको बताएका हुन् ।

उनले आफूसँग पार्टी प्रवेशका विषयमा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले कुरा गरेको भन्ने हल्ला मात्र भएको बताए । आफू नेकपा एमालेमै सक्रिय रहेको उनको दाबी छ ।

रावलले आफूलाई कारबाही गरेर देखाउन चुनौती दिएका छन् । देश, जनता र पार्टीले लिएको नीतिको पक्षमा आफू दृढतापूर्वक खडा भएको केही मानिसहरूलाई बिझाइरहेको भन्दै नेता रावलले त्यस्ता पात्र र प्रवृत्तिलाई चुनौती दिन आफू सक्षम रहेको दाबी गरे ।

देश र जनताको पक्षमा लाग्दा आउन सक्ने व्यवधानका विषयमा आफू जानकार रहेकाले आफ्नो अडानमा अविचलित रहेको र त्यसै अनुसार चल्न पार्टी नेता तथा कार्यकर्तालाई निर्देशन दिए । पार्टी विचारशून्य अवस्थामा पुगेको भन्दै नेता रावलले आफू पार्टीको विधि, विधान र सिद्धान्तको पक्षमा बोल्दै आएकाे बताए ।

पार्टीबाट कारवाहीको तयारी भइरहेको छ भन्ने सुनिन्छ नि भन्ने पत्रकारको प्रश्नमा उनले भने, “पार्टीको सिद्धान्त जोगाउनुपर्छ, विधि विधान अनुसार पार्टी चल्नुपर्छ भन्ने मत राखेकै कारण आफूलाई कारबाही गरिन्छ भने त्यो गरेर देखाउन ठाडो चुनौती दिन्छु ।” उनले पार्टीले आफूमाथि जस्तो कदम चाल्यो त्यही अनुसारको कदम चाल्न आफू तयार रहेको बताए ।