अक्टोबर २८ मा एनआरएनए वार्षिक साधारणसभा

अक्टोबर २८ मा एनआरएनए वार्षिक साधारणसभा


ग्लोब नेपाल
351
Shares

लण्डन । गैरआवासीय नेपाली संघले आगामी २७ अक्टोबरमा एनआरएनए डे र २८ अक्टोबरमा वार्षिक साधारणसभा आयोजना गर्ने तयारी गरेको छ। एनआरएनए डे मनाउनका लागि संघका उपाध्यक्ष डा. हेमराज शर्माको संयोजकत्वमा उच्चस्तरीय समिति गठन गरिएको छ। महासचिव गौरीराज जोशीका अनुसार वार्षिक साधारणसभामा ७ विशेष प्रस्तावमाथि छलफल हुनेछ।

महासचिव जोशीका अनुसार संघका राष्ट्रिय समितिलाई सो साधारणसभामा प्रतिनिधि पठाउनको लागि परिपत्र गरिएको छ। सो सभा तीन हजार भन्दा बढी प्रतिनिधिहरुको सहभागिता अपेक्षित छ र यो भौतिक र अनलाइन (हाइब्रीड) माध्यमबाट आयोजना हुनेछ।

साधारणसभामा अन्तराष्ट्रिय समन्वय परिषद्को वार्षिक क्रियाकलापसम्बन्धी महासचिवको सांगठानिक (वार्षिक) प्रगति प्रतिवेदन, आर्थिक वर्ष २०८० र ०८१ को आय-व्ययको विवरण, लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण, विभिन्न विभागहरूको प्रतिवेदन अनुमोदन र राष्ट्रिय समन्वय परिषद्का प्रतिवेदन अनुमोदनजस्ता प्रस्तावमाथि छलफल गरिनेछ।

प्रतिनिधि छनोट प्रक्रिया
वार्षिक साधारणसभा २०२४ का लागि गैरआवासीय नेपाली संघको विधान २००३ (२०२२ को संशोधनसहित) को दफा १४ को उपदफा १४.१० अनुसार, प्रत्येक १ हजार पञ्जीकृत सदस्यको लागि १ प्रतिनिधि नियुक्त गर्न सकिने प्रावधान रहेको छ। तथापि, एक संघबाट ७ जनाभन्दा बढी प्रतिनिधि पठाउन सकिँदैन। प्रतिनिधिहरूलाई साधारणसभा बस्ने दिनभन्दा २० दिन अगाडि अर्थात अक्टोबर ७ सम्म केन्द्रीय कार्यालयमा पठाउनु पर्नेछ।