मनसुन लम्बिन सक्ने सम्भावना, दशैंमा पानी पर्ने अनुमान

मनसुन लम्बिन सक्ने सम्भावना, दशैंमा पानी पर्ने अनुमान



काठमाडौं । नेपालमा यो वर्ष मनसुन केही दिन लम्बिन सक्ने मौसमविद्ले अनुमान गरेका छन् । सामान्यतया अक्टोबर २ तारिखमा मनसुन बाहिरिने भए पनि यसपालिको मनसुन केही दिन लम्बिने सम्भावना बढेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविद्ले अनुमान गरेका हुन् ।

मौसमविद् प्रतिभा मानन्धरले भोलि दिउँसो पनि आज जस्तै घाम लाग्ने र भोलि बेलुकादेखि भने देशका धेरै ठाउँमा मौसम बद्ली भई केही दिन पानी पर्ने सम्भावना रहेको तर लगातार झरी भने नपर्ने बताइन् ।

सामान्यतया जुन १३ मा भित्रिएर अक्टोबर २ मा बाहिरिनेमा ५ दिन अघिपछि हुने गरेको छ । यसवर्ष दुई दिन अघि भित्रिएको मनसुन झण्डै एकहप्ता ढिलो गरि बाहिरिने सम्भावना बढेकोले यस वर्ष दशैँमा झरी पर्ने अनुमान रहेको मौसमविद्ले बताएका छन् ।

यस वर्ष दशैँको टिका अक्टोबर १२ अर्थात असोज २६ गते परेको छ । मौसमविद् प्रतिभा मानन्धरले ८–१० दिन ढिलो गरेर मनसुन बाहिरिनु स्वभाविक रहेको बताएकी छन् ।

भारतबाट मनसुन बाहिरिएपछि नेपालको पश्चिमी क्षेत्रबाट मनसुन बाहिरिने क्रम शुरु हुनेमा अहिलेसम्म भारतमा मनसुन बाहिरिएको घोषणा नभएकाले पनि नेपालबाट अझै ढिलो मनसुन बाहिरिने सम्भावना बढेको मौसमविद्ले बताएका छन् । यस वर्षको मनसुन तत्काल बाहिरिने सम्भावना नदेखिएकाले दशैँसम्म पनि पानी पर्ने पूर्वानुमान भएको हो ।