खाद्य पदार्थको नियमित अनुगमन गर्न काठमाडौं उपत्यकामा तीन वटा टोली परिचालन

खाद्य पदार्थको नियमित अनुगमन गर्न काठमाडौं उपत्यकामा तीन वटा टोली परिचालन



काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले खाद्य पदार्थको नियमित अनुगमन गर्न काठमाडौं उपत्यकामा तीन वटा टोली परिचालन गरेको छ ।

विभागले हिजो काठमाडौं महानगरपालिका–२५ न्यूरोडमा रहेको गौतम स्वीट्स, महानगरपालिका–२४ इन्द्रचोकमा रहेको स्वस्तिक स्वीट्स एण्ड स्न्याक्स, महानगरपालिका–२२ न्यूरोडमा रहेको कर्नर ताजा गुँदपाक भण्डारमा अनुगमन गरेको विभागका प्रवक्ता मोहनकृष्ण महर्जनले जानकारी दिए । अनुगमनका क्रममा व्यक्तिगत सरसफाइमा ध्यान दिन, एकपटक प्रयोग भएको तेल बारम्बार प्रयोग नगर्न र कृत्रिम रङको प्रयोग मापदण्ड बमोजिम मात्र गर्न निर्देशन दिएको जानकारी उनले दिए ।

यसैगरी विभागले ललितपुरको गोदावरी नगरपालिका–११ मा रहेको प्रशंसा कलेक्सन एण्ड रिफाइन प्रशोधन केन्द्रमा पनि अनुगमन गरेको छ । यो केन्द्रमा वनस्पति घ्यूलाई खिया लागेको ड्रममा तताएर जुजुघ्यू नाममा एक र दुई लिटरका ७२ डब्बामा नक्कली घ्यू र एक सय ५० ग्रामको एक सय डब्बा नक्कली घ्यू स्थानीय जनप्रतिनिधिको रोहबरमा नष्ट गरिएको छ ।

विभागले भक्तपुरको मध्यपुर थिमि नगरपालिका–३ मा रहेको मेहता स्टोर र मध्यपुर थिमि–५ मा रहेको शुभलक्ष्मी जनरल स्टोरमा अनुगमन गर्दा उपभोग्य मिति समाप्त भएका खाद्य पदार्थ अव्यवस्थित रूपमा राखिएको, खाद्यान्न भण्डारण गर्दा सुरक्षित विधिको प्रयोग नभएको पाइएको थियो । अनुगमनका क्रममा मूल्यसूची व्यवस्थित रूपमा नराखिएको र व्यवसायसम्बन्धी कागजात नभेटिएको प्रवक्ता महर्जनले बताए ।