गाउँ फर्कनेलाई महाशिलाले ६ महिनाकाे खाद्यान्न खर्चसहित १ लाख अनुदान दिने

गाउँ फर्कनेलाई महाशिलाले ६ महिनाकाे खाद्यान्न खर्चसहित १ लाख अनुदान दिने



पर्वत । पर्वतको महाशिला गाउँपालिकाले गाउँ फर्कनेलाई खाद्यान्न खर्चसहित एक लाख रुपैयाँ अनुदान दिने भएको छ ।

आफू बसेको गाउँठाउँ छाडी अन्यत्र बसाइँ सरेकाहरू पुरानै ठाउँमा फर्किएमा एक लाख रुपैयाँ अनुदान ६ महिनालाई पुग्ने खाद्यान्न खर्च दिने निर्णय गरेको गाउँपालिकाका अध्यक्ष ईश्वरीप्रसाद भुसालले बताए । गाउँलेहरू बसाइँ सरेर अन्यत्र जान थालेपछि पालिकाले यस्तो कार्यक्रम ल्याएको गाउँपालिकाका अध्यक्ष भुसालकाे भनाइ छ ।

गाउँपालिकाले चालू आर्थिक वर्षदेखि यस्तो कार्यक्रम लागू गरिसकेको छ । गाउँ फर्केकाहरूलाई आफ्नो खेतबारीमा अन्न फलाउन कम्तीमा ६ महिना लाग्ने भएकाले उनीहरूको परिवारका सदस्यहरूको भरणपोषणका निम्ति गाउँपालिकाले नै खाद्यान्न उपलब्ध गराउने छ । गाउँपालिकाले चामल, दाल, तेल, तरकारीका निम्ति पनि अनुदान दिने जनाएकाे छ ।

अध्यक्ष भुसालका अनुसार एक वर्षमा महाशिला गाउँपालिकाबाट ९३ परिवारका तीन सय २५ जना बसाइँ सरेका छन् ।