बाढी पहिरोमा फसेकाहरूलाई उद्धार गर्न सेनाका ३ वटा हेलिकप्टर परिचालन

बाढी पहिरोमा फसेकाहरूलाई उद्धार गर्न सेनाका ३ वटा हेलिकप्टर परिचालन



काठमाडौं । सरकारले मौसम खुलेका ठाउँमा हेलिकप्टरबाट बाढी पहिरो पीडितको उद्धार तीव्र बनाएको जनाएको छ ।

गृह मन्त्रालयले नेपाली सेनाको हेलिकप्टरमार्फत बाढी पहिरो, डुबान तथा प्राकृतिक जोखिममा परेको एक सय ६१ जनाको सकुशल उद्धार गरेको जनाएको छ । गृह मन्त्रालयका प्रवक्ता एवम् सहसचिव ऋषिराम तिवारीले आज बिहानसम्म काभ्रेपलाञ्चोकका विभिन्न पालिकाबाट अहिलेसम्म ८३ जनाको उद्धार गरी सुरक्षित ठाउँमा सारिएको जानकारी दिए ।

रोशी खोलाले बीपी राजमार्गका ठाउँ–ठाउँमा कटान गरेसँगै सयौं जना अलपत्र परेका छन् । रोशीको बाढीले विभिन्न गाउँ र साना बजार बगाएको छ तर कहाँ कति क्षति भयो भन्ने अझै पनि विवरण आइसकेको छैन ।

काभ्रेपलाञ्चोकमा अहिले नेपाली सेनाका तीन वटा हेलिकप्टरले उद्धार जारी राखेको छ । गृह मन्त्रालयका प्रवक्ता तिवारीले बाढी पहिरोका कारण अवरुद्ध राजमार्ग खुलाउन सबै संयन्त्र परिचालन गरिएको बताए ।