पछिल्लो विपद्बाट काठमाडौं उपत्यका र बागमती प्रदेशमा धेरै जनधनको क्षति

पछिल्लो विपद्बाट काठमाडौं उपत्यका र बागमती प्रदेशमा धेरै जनधनको क्षति



काठमाडौं । केही दिनअघि मुलुकभर परेको अविरल वर्षापछिको बाढीपहिरोमा परी काठमाडौं उपत्यका र बागमती प्रदेशमा सबैभन्दा बढी जनधनको क्षति भएको छ । विपद्बाट आज अपराह्नसम्म काठमाडौं उपत्यकामा मात्रै ८२ जना र उपत्यकाबाहेक बागमती प्रदेशमा ९४ जनाको मृत्यु भएको छ ।

सशस्त्र प्रहरी बल नेपालको तथ्यांका अनुसार काठमाडौंमा ५२, ललितपुरमा २५ र भक्तपुरमा पाँच जनाको मृत्यु भएको छ । बाढीपहिरोका घटनामा परी काठमाडौंमा दुई, भक्तपुरमा एक र ललितपुरमा १२ जना बेपत्ता भएका छन् । बेपत्ताको खोजी जारी छ । विपद्का घटनाबाट काठमाडौंमा १५ र ललितपुरमा दुई जना घाइते भएका छन् ।

बागमती प्रदेशका काभ्रेपलाञ्चोकमा ५९, सिन्धुपाल्चोकमा १३, मकवानपुर र दोलखामा सात-सात, धादिङमा चार, सिन्धुलीमा दुई तथा नुवाकोट र रामेछापमा एक/एक जनाको मृत्यु भएको छ । काभ्रेपलाञ्चोकमा चार र सिन्धुपाल्चोकमा एक जना बेपत्ता भएका छन् । काभ्रेपलाञ्चोकमा ५२, सिन्धुपाल्चोकमा चार र मकवानपुरमा एक जना घाइते भएका छन् ।

काभ्रेपलाञ्चोकमा सबैभन्दा बढी एक हजार घरमा क्षति पुगेको छ । यस्तै सिन्धुपाल्चोकमा १६ र सिन्धुलीमा पाँच घर क्षतिग्रस्त भएको छ । कोसीको पाँचथरमा छ, सोलुखुम्बुमा पाँच, धनकुटा र झापामा तीन-तीन, सुनसरी र इलाममा दुई/दुई, तेह्रथुम र ओखलढुंगामा एक/एक, मधेसको महोत्तरीमा दुई र रौतहटमा एक तथा लुम्बिनीको रुपन्देहीमा दुई जनाको मृत्यु भएको छ ।