एनपिएलको ‘कमर्सियल राइट्स’ ६ करोडमा विक्री

एनपिएलको ‘कमर्सियल राइट्स’ ६ करोडमा विक्री



काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले आयोजना गर्न लागेको नेपाल प्रिमियर लिग (एनपिएल) को रणनीतिक व्यावसायिक अधिकार ब्रान्ड लजिकले पाएको छ ।

क्यानले बोलकबोल मार्फत मागेको ‘स्ट्राटेजिक एण्ड कमर्शियल राइट्स’ आवेदनमा सबैभन्दा बढी ५ करोड ९२ लाख रुपियाँ बोली लगाएर ब्रान्ड लजिकले सो अधिकार प्राप्त गरेको हो ।

यस सम्झौतासँगै ब्रान्ड लजिकको सहकार्यमा नेपाल प्रिमियर लिगलाई थप व्यवस्थित र दिगो बनाउने अपेक्षा गरिएको क्यानले जनाएको छ । कम्पनीले खेलको प्रचारप्रसार व्यवस्थापनदेखि आर्थिक पक्षलाई थप मजबुत बनाउने जिम्मेवारी लिनेछ । सम्झौतामा लिगको ब्रान्डिङ, मार्केटिङ, प्रसारण अधिकार, प्रायोजन व्यवस्थापन र ग्राउन्ड ब्रान्डिङको अधिकार समावेश गरिएको छ ।

व्यवस्थापनसँगै ब्रान्ड लजिकले एनपिएलका खेललाई राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा प्रसारण गर्ने अधिकार पाएको छ । साथै, विभिन्न प्रायोजन अवसरलाई समन्वय गर्दै लिगको आर्थिक पक्षलाई थप मजबुत बनाउन काम पनि गर्नेछ ।

सम्झौतासँगै ब्रान्ड लजिकले अब लिगको सम्पूर्ण ब्रान्डिङ र प्रचार प्रसारको जिम्मेवारी लिएको ब्रान्ड लजिकका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत रोशन निरौलाले जानकारी दिए ।

एनपीएल आगामी नोभेम्बर-डिसेम्बरमा काठमाडौंमा हुँदैछ । एनपीएलमा काठमाडौं, पोखरा, चितवन, जनकपुर, विराटनगर, सुदूरपश्चिम, कर्णाली र लुम्बिनी गरी ८ फ्रेन्चाइज टोली छन् ।