पाकेर लहलह झुलेको धान बाढीले सखाप, खेत बन्यो बगर

पाकेर लहलह झुलेको धान बाढीले सखाप, खेत बन्यो बगर



सिन्धुली । सिन्धुलीको सुनकोशी गाउँपालिका–१ नेपालथोकका सुन्दर फाँट पाकेको धानले पहेँलपुर देखिएको थियो । लहलह झुलेर सुनौलो देखिएका धान भित्र्याउन किसानले खेतला खोजिसकेका थिए ।

यही शुक्रवार र शनिवार रोशी खोलामा आएको बाढी धान फाँटमा पस्यो । बाढीसँगै आएको लेदो माटो, गेग्रानले खेतै बगर बनाइदियो । दशैँअघि थन्क्याई सक्ने तयारी गरिएको धान बालीसहित उब्जाउ हुने खेत बगरमा परिणत भएपछि किसान निराश छन् ।

जग्गा भाडामा लिएर २२ रोपनीमा लगाइएको धान भित्र्याउने बेलामा बाढीले सखाप पारेपछि भोक, निद्रा हराएको किसान केशवसिंह श्रेष्ठको दुःखेसो छ । ‘जेठ २९ गते ८० हजार रुपैयाँ खर्च गरेर रोपेको धान पाकेपछि बाढीले खायो, दुःख गर्ने हामीले खान पाएनौँ । सात जनाको परिवार छ, अब के खुवाएर पाल्ने ? चिन्ता मात्र लाग्छ, चार दिनदेखि भोक, निद्रा छैन’, उहाँले भन्नुभयो । किसान श्रेष्ठले २२ रोपनीबाट एक सय मुरी धान भित्र्याउने गर्नुभएको थियो । यस वर्ष एक दानो भित्र्याउन नपाई बाढीले सखाप बनायो ।

सुनकोशी–१ गोइरीकी कृष्णमाया तोलङ्गेले बाढी खेतमा पसेपछि एक दानो धान भित्र्याउने अवस्था नरहेको बताए । तीन रोपनीमा लगाएको पाकेको धान, रोपाइँ खर्च, बीउ, मल, परिश्रम सबै खेर गएको उनले सुनाए ।

बाढीले बगाएको धान खेत हेर्दै गणेश श्रेष्ठ भक्कानिए । सुनकोशी–१ गजुलीदह बस्ने किसान श्रेष्ठको मुख्य पेसा कृषि नै हो । यसैबाट पाँच जनाकाे परिवार निर्वाह भएको थियो । पाकेको धानसहित पाँच रोपनी खेत बगर बनाएपछि उहाँलाई यति बेला चिन्ता बढेको छ ।

नेपालथोकका किसानलाई मात्रै होइन, बाढीले खोला र नदी आसपासका धान खेत कतै कटान गरेको छ त कहीँ ढालेर सोतर बनाएको छ भने कतै बालुवा, माटो, ढुङ्गा र मुढाले पुरेर उराठिलो बगर बनाइदिएको छ । सुनकोशी गाउँपालिकाभित्रको क्षेत्रमा मात्रै तीन सय बिघामा लगाइएको धान बाली बाढीले नष्ट गरेको उपाध्यक्ष कपिलकुमार कोइरालाले बताए ।

गोलञ्जोर गाउँपालिका क्षेत्रमा भित्र्याउने बेला भएको ३० बिघाको धान बाली क्षति भएको उपाध्यक्ष ज्वालाप्रसाद न्यौपानेको आकलन छ । सुनकोशीमा आएको बाढीले विशेषगरी गोलञ्जोर–७ को बेसीँफाँट, वडा नम्बर ६ को बलेनी, हैवारी क्षेत्र, वडा नम्बर २ को कुखुरेटार, ३ नम्बर वडाको मुर्गी, दिङदिङबेँसी र वडा नम्बर १ को च्याखुटारबेँसीको धान फाँटमा क्षति गरेको उनले बताए ।

हरिहरपुरगढी गाउँपालिकामा बाग्मती नदीमा आएको बाढीले बस्तीपुर फाँट, कुर्ले फाँट, भिसापानी फाँट, श्रीपुर फाँटलगायत ठाउँका धान बाली सखाप बनाएको छ । हरिहरपुरगढी–१, २ र ३ वडाको खेतीयोग्य जमिन कटान भएको छ । पालिका अध्यक्ष बज्रध्वज वाइबाका अनुसार यहाँका चार सय ६५ हेक्टर खेतीयोग्य जमिन नदीले कटान गरेसँगै धान बालीमा क्षति भएको छ ।

भर्खर पसाएको धान बाढीले जमिनसँगै कटान गरेपछि किसान दुःखी छन् । बालुवा, माटो, ढुङ्गा र मुढाले पुरेको, च्यापिएको धानको बाला हेर्दै यहाँका किसान धेरैजसाे समय पुर्पुरोमा हात राखेर बस्छन् । मन बुझाउने विकल्प भेट्दैनन् । किसानलाई सरकारसँग पनि केही आशा छैन ।

सिन्धुलीका नौ वटै पालिकाका खेतीयोग्य जमिन र धान बालीमा ठूलो क्षति भएको कृषि विकास कार्यालयकी कृषि प्रसार अधिकृत उमादेवी श्रेष्ठले बताए । उनले भने, ‘तीन दिनको अविरल वर्षासँगै आएको हुरी र बाढी पहिरोले जिल्लाको सबै पालिकाको धान बालीमा असर गरेको छ । खोला र नदीमा आएको बाढीले खेतीयोग्य जमिन कटान भएका छन् ।’

कुन पालिकामा कति परिणाममा क्षति भयो भन्ने यकिन तथ्याङ्क आइसकेको छैन । सयौं हेक्टरको धान बालीमा क्षति पुगेको आकलन छ । क्षति विवरण सङ्कलन भइरहेको कृषि प्रसार अधिकृत श्रेष्ठले बताए । क्षति विवरण यकिन भएपछि त्यही आधारमा किसानलाई राहत तथा क्षतिपूर्तिका लागि सम्बन्धित निकायसँग समन्वय गर्ने उनी बताए ।

कृषि विकास कार्यालयको तथ्याङ्कअनुसार यस वर्ष सिन्धुलीको ११ हजार एक सय ८८ हेक्टरमा किसानले धान बाली लगाएका थिए ।