आज बंगलादेशसँग ४० मेगावाट विद्युत बिक्री सम्झौतामा हस्ताक्षर

आज बंगलादेशसँग ४० मेगावाट विद्युत बिक्री सम्झौतामा हस्ताक्षर


ग्लोब नेपाल
108
Shares

काठमाडौँ । नेपाल र बंगलादेशबीच विद्युत खरिद बिक्रीसम्बन्धी सम्झौतामा आज हस्ताक्षर हुंदैछ । बंगलादेशलाई ४० मेगावाट बिजुली खरिदबिक्री गर्न बिहीबार त्रिपक्षीय सम्झौतामा हस्ताक्षर हुन लागेको हो ।

नेपाल विद्यत् प्राधिकरण, भारतको एनटीपीसी विद्युत् व्यापार निगम (एनभीभीएन) र बंगलादेशको बंगलादेश पावर डेभलपमेन्ट बोर्ड (बीपीडीबी) बीच सम्झौता हुन लागेको ऊर्जा मन्त्रालयले जनाएको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का र बंगलादेशका अन्तरिम सरकारका वातावरण, वन तथा जलवायु परिवर्तन र जलस्रोतमन्त्री सैयदा रिजवाना हसनको उपस्थितिमा त्रिपक्षीय सम्झौतामा हस्ताक्षर गर्ने तयारी छ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, एनभीभीएनका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रेणु नाराङ र बीपीडीबीका अध्यक्ष मोहमद रिजाउल करिमले सम्झौतापत्रमा हस्ताक्षर गर्ने तय भएको छ

। नेपाल र बंगलादेशबीच गत वर्षको साउनमा ४० मेगावाट बिजुली खरिदबिक्री सम्झौता हुने तय थियो । तर बंगलादेशमा राजनीतिक उथलपुथल भएपछि सम्झौतामा हस्ताक्षर हुन ढिलाई भएको हो ।

बंगलादेशको अन्तरिम सरकारका प्रमुख मोहम्मद युनुसले नेपालबाट बिजुली आयात गर्ने सम्बन्धी पुरानो सम्झौता अघि बढाउने बताएपछि प्रक्रिया अघि बढेको हो । प्राधिकरणले हरेक वर्ष १५ जुनदेखि १५ नोभेम्बरसम्म बंगलादेशलाई बिजुली बिक्री गर्नेछ ।

नेपाल र भारतबीचको पहिलो अन्तरदेशीय ढल्केबर–मुजफ्फरपुर ४०० केभी प्रसारण लाइनमार्फत विद्युत् बंगलादेश निर्यात गरिने छ । मुजफ्फरपुरबाट भारतीय प्रसारण लाइनमार्फत बेहरामपुर (भारत)–भेडामारा (बंगलादेश) ४०० केभी प्रसारण लाइन हुँदै विद्युत् बंगलादेश पुग्ने प्राधिकरणले जनाएको छ ।

प्राधिकरणले भारतीय अनुदानमा निर्माण भई आफ्नो स्वामित्वमा रहेको २५ मेगावाटको त्रिशूली र सहायक कम्पनीमार्फत निर्माण गरिएको २२ मेगावाटको चिलिमे जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् बंगलादेश निर्यात गर्नेछ ।