चाडपर्वलाई लक्षित गर्दै राजमार्गका होटलमा रात्रिकालीन छड्के

चाडपर्वलाई लक्षित गर्दै राजमार्गका होटलमा रात्रिकालीन छड्के



धादिङ । पृथ्वी राजमार्गमा बढिरहेको गाडीको चाप र चाडपर्वलाई लक्षित गर्दै जिल्ला प्रशासन कार्यालय धादिङले बजार अनुगमनलाई तीव्र पारेको छ । अनुगमनका क्रममा हिजो पृथ्वी राजमार्गअन्तर्गत बेनीघाट रोराङ गाउँपालिका – ३ मा सञ्चालित पिस हेभन रेष्टुरेन्ट एण्ड रिसोर्टलाई २० हजार रुपैयाँ जरीमाना गरिएको छ ।

प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेको नेतृत्वमा गएको अनुगमन टोलीले खानेकुरा खुला छाडेकाले झिँगा भन्किएको फेला पारेपछि उपभोक्ता संरक्षण ऐन बमोजिम जरीमाना तिराएको हो । पुनः यस्तो भेटिएमा कानुनबमोजिम हदैसम्मको कारबाही गरिनेसमेत अनुगमन टोलीले चेतावनी दिएको छ ।

अनुगमनका क्रममा व्यवसायीहरूलाई सचेत गराइएको र कार्यविधिअनुसार बिक्री गर्न निर्देशन दिइएको धादिङका सहायक प्रमुख जिल्ला अधिकारी एवम् जिल्ला अनुगमन समितिका संयोजक युवराज अर्यालले जानकारी दिए ।

चाडपर्वको बेला जिल्लाका विभिन्न ठाउँमा अखाद्य वस्तुको बिक्री भएको, तोकिएको मूल्यभन्दा बढी रकम लिएको र सरसफाइमा ध्यान नदिएको भन्ने गुनासो आएपछि बजार अनुगमनलाई तीव्रता दिएको अर्यालले बताए ।