संकटामाथि पुलिसको रोमाञ्चक जित

संकटामाथि पुलिसको रोमाञ्चक जित



काठमाडौं । नेपाल पुलिस क्लबले एन्फा महिला लिगअन्तर्गत पहिलो चरणको अन्तिम खेलमा संकटा क्लबमाथि रोमाञ्चक जित निकालेको छ ।

ललितपुरको सातदोवाटोस्थित एन्फा मैदानमा शुक्रबार भएको खेलमा पुलिसले संकटालाई २–१ गोलले हरायो । पुलिसको जितमा अनुस्का शेर्पा र समिक्षा घिमिरेल गोल गर्नुभयो । संकटाका लागि सेलिना अनिमाले सान्त्वना गोल फर्काए ।

जितसँगै पुलिस लिगमा तेस्रो बन्दै दोस्रो चरण (सुपर लिग) मा प्रवेश गरेको छ । पुलिसले नौ खेलबाट २१ अङ्क बनायो । संकटा यसअघिनै लिगबाट बाहिरिएको छ । नौ खेलमा आठ अंक बनाएको संकटा तालिकाको सातौँ स्थानमा रह्यो ।

नेपाल फुटबल संघ (एन्फा)ले आयोजना गरेको लिगमा विभागीय तीनसहित १० टोलीले भाग लिएका थिए । जसबाट सुपर लिगमा स्थान बनाउनेमा पुलिससँगै नेपाल एपीएफ क्लब, त्रिभुवन आर्मी क्लब, वालिङ नगरपालिका र कोशी प्रदेश रहेको छ ।

दुई करोड २४ लाख ६८ हजार रुपियाँ लगानी रहेको लिगको विजेताले १० लाख र उपविजेताले पाँच लाख रुपियाँ पुरस्कार पाउने एन्फाले जनाएको छ । यस्तै लिगको उत्कृष्ट खेलाडीलाई एक लाख, फेयर प्ले टोलीलाई एक लाख ५० हजार, विधागत उत्कृष्ट खेलाडीलाई जनही ५० हजार रुपियाँ प्रदान गरिनेछ ।