सिङमा हरियाे रंग लगाइएका खसीबोका खरिद गर्न विभागकाे आग्रह

सिङमा हरियाे रंग लगाइएका खसीबोका खरिद गर्न विभागकाे आग्रह



काठमाडौं । काठमाडौं उपत्यकामा पश्चिम तराई र आसपासका सल्यान, सुर्खेत, रुकुम, रोल्पा, गुल्मी, अर्घाखाँचीबाट खसीबोका भित्रिने क्रम शुरू भएको छ ।

चौपाया खरिद बिक्री सङ्घका अध्यक्ष सन्तोषबहादुर खत्रीका अनुसार बाढी पहिरोका कारण बाटो अवरुद्ध हुँदा खोटाङ, ओखलढुङ्गा, रामेछाप, सिन्धुली, उदयपुर र काभ्रेबाट खसीबोका ल्याउन कठिन भएको छ । हरेक वर्ष दशैँमा काठमाण्डौ उपत्यकामा ४५ हजार हराहारीमा खसीबोका ल्याइने गरेको छ । यसैगरी मनाङ र मुस्ताङबाट भेडाच्याङ्ग्रा ल्याइँदै छन् ।

काठमाडौं उपत्यकामा अहिले तराईका खसी जिउँदो प्रतिकिलो ७ सय २० देखि ७ सय ५५ रुपैयाँ, पहाडका खसी ६ सय ७० देखि ७ सय पाँच रुपैयाँ, बोका ६ सय ७० देखि ७ सय २० रुपैयाँसम्म र च्याङ्ग्रा प्रतिकिलो १ हजार ३ सय रुपैयाँमा बिक्री भइरहेका छन् । काठमाडौं उपत्यकाको टुकुचा खोला किनारको बजारबाट ११ हजार हाराहारीमा खसीबोका बिक्री हुने गरेका अध्यक्ष खत्रीले जानकारी दिए ।

यसैबीच पशु सेवा विभागले उपभोक्ताको स्वास्थ्यलाई दृष्टिगत गर्दै खसीबोका बिक्री भइरहेका ठाउँमा पशुचिकित्सकको टोली खटाएर अनुगमन एवम् परीक्षण गरिरहेको छ ।

टुकुचामा खसीबोका स्वास्थ्य परीक्षण गरिरहेका पशु चिकित्सक योगेन्द्रप्रसाद शर्माले स्वस्थ खसीबोका बिक्री हुने र बिरामी बेच्न नदिइने बताए । विभागले स्वस्थ खसीबोकाको सिङमा हरियो र बिरामीलाई रातो रङ लगाएको बताउँदै उनले स्वस्थ चौपाया खरिद गर्न सुझाए ।