इजरायल र लेबनानमा रहेका नेपालीहरूको अवस्थाबारे जानकारी लिइरहन निर्देशन

इजरायल र लेबनानमा रहेका नेपालीहरूको अवस्थाबारे जानकारी लिइरहन निर्देशन



काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले इजरायल र लेबनानमा रहेका नेपालीहरूको अवस्थाबारे जानकारी लिएर ‘अपडेट’ भइरहन नेपाली दूतावासहरूलाई निर्देशन दिएकी छन् । लेबनान र इजरायल हेर्ने नेपाली राजदूतहरूसँग ‘भर्चुअल’ बैठक गरेर उनले पछिल्लो परिस्थितिका बारेमा जानकारी लिएकी थिइन् ।

बैठकमा मन्त्री राणाले पछिल्लो समयमा विशेषगरी लेबनानमा विकसित परिस्थितिका कारण त्यहाँ रहेका नेपालीको अवस्थाबारे नेपालमा चिन्ता बढिरहेकाले उनीहरू र उनीहरूका परिवारको सम्पर्कमा रहेर आवश्यक सहयोग गर्न निर्देशन दिएकी हुन् । नेपाली नागरिकको उद्धार गरेर स्वदेश ल्याउनुपर्ने अवस्था आउनसक्ने भएमा त्यसका लागि पनि आवश्यक गृहकार्य गर्न मन्त्री राणाले आग्रह गरेकी छन् ।

परराष्ट्रमन्त्री डा. राणाले सम्बन्धित देशका दूतावासहरूलाई सूचना जारी गरी सम्पर्क व्यक्ति तोक्न र आवश्यकताअनुसारका ‘हेल्प डेस्क’ स्थापना गरेर समस्यामा परेका नेपालीहरूलाई आवश्यक सहायता र समन्वय प्रदान गर्न निर्देशन दिएकी छन् ।

बैठकमा इजिप्टका लागि नेपाली राजदूत सुशील लम्सालले लेबनानको पछिल्लो अवस्थाको जानकारी गराउँदै त्यहाँ रहेका नेपालीहरूलाई अहिले नै त्यस्तो कुनै समस्या नरहेको बताइन् । लेबनानमा अहिले एक हजार दुई सय जना नेपाली रहेका अनुमान गरिएको र धेरैजसो घरायसी काममा रहेका जानकारी दिँदै दूतावासले जारी गरेको सूचनाका आधारमा तीन जना मात्र सम्पर्कमा आएको उनले बताइन् ।

यस्तै इजरायलका लागि नेपली कार्यवाहक राजदूत कुमार श्रेष्ठले इजरायलको अवस्था सामान्य रहेको र त्यहाँ रहेका झन्डै चार हजार पाँच सय जना नेपाली सुरक्षित रहेका बताए ।