बाढी पहिरोमा परी मृत्यु हुनेको संख्या २४६ पुग्यो

बाढी पहिरोमा परी मृत्यु हुनेको संख्या २४६ पुग्यो



काठमाडौं । यही असोज १० देखि १२ गतेसम्मको धेरै वर्षाका कारण आएको बाढी पहिरोमा परेर आजसम्म मृत्यु हुनेको सङ्ख्या दुई सय ४६ पुगेको छ ।

नेपाल प्रहरीले आज सार्वजनिक गरेको विवरण अनुसार आजसम्म एक सय ७८ घाइते भएका छन् । १८ बेपत्ता रहेको गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले जानकारी दिए ।

उनकाअनुसार कूल १७ हजार एक सय ७४ को उद्धार गरिएको छ । सबैभन्दा ठुलो जनधनको क्षति बागमती प्रदेशमा भएको र त्यसमा पनि काठमाडौँ उपत्यकामा धेरै क्षति भएको छ । बागमतीमा मात्रै एक सय ३९को मृत्यु भएको छ ।

मृतकमध्ये एक सय ७६ आश्रित परिवारलाई ‘विपद् पीडित उद्धार र राहतसम्बन्धी मापदण्ड, २०७७’ बमोजिम राहत रकम उपलब्ध गराइएको छ । प्रभावित परिवारलाई नगद सहायता तथा राहत सामग्री वितरण जारी रहेको उनले जानकारी दिए ।

मन्त्रालयअन्तर्गत केन्द्रीय विपद् गोदाम घरमा रहेको राहत सामग्री जिल्ला विपद् व्यवस्थापन समितिको मागको आधारमा उपलब्ध गराइएको छ । आपत्कालीन राहत, पुनर्निर्माण र पुनर्स्थापनालाई प्रभावकारी बनाउने उद्देश्यले गृहमन्त्रीसहितको टोलीले विभिन्न क्षेत्रको स्थलगत अनुगमन गरी राहत र पुनर्निर्माणलाई गति दिन निर्देशन दिएको उनले बताए ।

विभिन्न राजमार्गका अवरोध हटाइ वा वैकल्पिक व्यवस्था गरी सञ्चालन गर्ने प्रयास भइरहेको मन्त्रालयले जनाएको छ । लाभग्राहीको विवरण प्राप्त हुनासाथ प्रभावितलाई खाद्यान्नलगायत तत्काल गुजारा गर्न नगद र अस्थायी आवास निर्माणका लागि पहिलो किस्तावापत् रकम जिल्ला विपद् व्यवस्थापन कोषबाट स्थानीय तहमार्फत उपलब्ध गराइने मन्त्रालयले जनाएको छ ।