पाकिस्तानको कप्तानी हारिसले गर्ने

पाकिस्तानको कप्तानी हारिसले गर्ने



काठमाडौं । एसीसी (एसियन क्रिकेट काउन्सिल) इमर्जिङ टी–२० कपमा विकेटकिपर ब्याट्सम्यान मोहम्मद हारिसले पाकिस्तानको नेतृत्व गर्ने भएका छन् । प्रतियोगिता ओमानमा अक्टोबर १८ देखि सुरु हुनेछ ।

डिफेन्डिङ च्याम्पियन पाकिस्तान टिममा हालै सम्पन्न च्याम्पियन्स कप र घरेलु क्रिकेटमा राम्रो प्रदर्शन गरेका खेलाडीले मौका पाएका छन् ।

टोलीले अक्टोबर ११ देखि १५ सम्म कराँचीस्थित हनीफ मोहम्मद हाई परफर्मेन्स सेन्टरमा प्रशिक्षण गर्नेछ भने अक्टोबर १६ मा ओमान प्रस्थान गर्नेछ । च्याम्पियन्स कप एकदिवसीय प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका आक्रामक ब्याट्सम्यान अब्दुल समदले पनि टोलीमा स्थान पाएका छन् । टोलीमा हैदर अलीसँगै अन्तर्राष्ट्रिय क्रिकेटको अनुभव भएका चार खेलाडी पनि छन् । प्रतियोगितामा आठ टिमको सहभागिता रहनेछ । चार टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।