मेलम्चीको पानी काठमाडौं उपत्यकामा पुनवितरण

मेलम्चीको पानी काठमाडौं उपत्यकामा पुनवितरण



काठमाडौं । मेलम्चीको पानी आजदेखि पुनर्वितरण सुरु गरिएको छ । खानेपानीमन्त्री प्रदीप यादव र मेलम्ची सङ्घर्ष समितिबीच वार्ता सफल भएपछि आज मेलम्चीबाट पानी काठमाडौं ल्याइएको हो ।

खानेपानीमन्त्री यादव र मेलम्ची सङ्घर्ष समितिबीच सोमबार राति भएको वार्तामा काठमाडौंमा पानी पठाउने विषयमा सहमति भएको थियो । उक्त सहमतिपश्चात् आज मेलम्चीको पानी सुन्दरीजलमा ल्याइएको मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक ई रत्नप्रसाद लामिछानेले बताए ।

सुन्दरीजलमा रहेको पानी प्रशोधन केन्द्रबाट मेलम्चीको पानी खोलिएपछि काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) का विभिन्न वितरण शाखामा पानी पठाइएको र ती शाखाहरुबाट वितरण सुरु हुने निर्देशक लामिछानेले बताए ।

मेलम्चीको पानी काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) मा आइसकेकाले अब काठमाडौं उपत्यकावासीका धारामा पानी वितरण सुरु गरिने बताइएकाे छ ।

२०७८ असार १ गते तथा साउन १६ र १७ गतेको बाढीले मेलम्ची खानेपानी आयोजनाको संरचनामा क्षति गरेपछि काठमाडौंमा हिउँदयाममा पानी ल्याउने र बर्खामा सुरुङ बन्द गर्ने गरिएको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ । मेलम्चीबाट दैनिक १७ करोड लिटर पानी आपूर्ति हुने गरेको छ ।