काठमाडौंसहित यी स्थानबाट बाहिरियो मनसुन

काठमाडौंसहित यी स्थानबाट बाहिरियो मनसुन



काठमाडौं । काठमाडौं उपत्यकासहित सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका सम्पूर्ण भूभागबाट यसपालिको मनसुन बाहिरिएको छ ।

बागमती प्रदेशको पश्चिमी भू–भाग र मधेश प्रदेशका पश्चिमी भू–भागको थोरै स्थानहरूबाट पनि बहिर्गमन भएको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।

“आज मिति २०८१ असोज २२ (८ अक्टोबर)का दिन यस वर्षको मनसुन कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका सम्पूर्ण भू–भागका साथै काठमाडौं उपत्यकालगायत वाग्मती प्रदेशको पश्चिमी भू–भाग र मधेस प्रदेशका पश्चिमी भू–भागको थोरै स्थानहरूबाट बहिर्गमन भएको छ,” मंगलबार महाशाखाले जारी गरेको बुलेटिनमा उल्लेख छ ।

सुदूरपश्चिम प्रदेशलगायत कर्णाली प्रदेशका धेरै तथा लुम्बिनी प्रदेशको पश्चिमी भू–भागको थोरै स्थानहरूबाट गत असोज २० नै मनसुन बाहिरिएको थियो ।

“मनसुनी वायु कमजोर हुँदै गइरहेको हुनाले नेपालको बाँकी भू–भागबाट पनि केही दिनमा मनसुन बाहिरिने सम्भावना रहेको देखिन्छ,” बुलेटिनमा उल्लेख छ, “मौसम पूर्वानुमान महाशाखाले नियमित रूपमा मनसुन बहिर्गमन प्रक्रियालाई अनुगमन गरिरहेको छ र यससम्बन्धी थप जानकारी अद्यावधिक गर्दै जानेछ ।”