समस्याग्रस्त सहकारीका ऋणीलाई ऋण तिर्न ७ दिने अल्टिमेटम

समस्याग्रस्त सहकारीका ऋणीलाई ऋण तिर्न ७ दिने अल्टिमेटम



काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त घोषणा भएका १८ वटा सहकारी संस्थाबाट ऋण लिएका ऋणीलाई ऋण तिर्न सात दिने अल्टिमेटम दिएको छ ।

समितिले आज सूचना निकालेर सात दिनभित्र ऋण तिर्न भनेको हो । ऋण तिर्न अन्तिम पटक ऋणी र जमानतकर्तालाई सात दिनको समय दिइएको र सात दिनभित्र ऋण चुक्ता नगरे ऋण र जमानतकर्ताको एकाघर परिवारका सदस्यको सम्पत्ति रोक्का र कालोसूचीमा राख्ने समितिले निकालेको सूचनामा उल्लेख छ ।

समस्याग्रस्त घोषित संस्थाका सञ्चालक, व्यवस्थापक, ऋणी सदस्य र कर्मचारीलाई आफ्नो दायित्व भुक्तानीका लागि पटक–पटक राष्ट्रियस्तरको पत्रपत्रिका र एसएमएसमार्फत ३५ दिने सूचनासमेत प्रेषित गरेको समितिले जनाएको छ ।

धेरैजसो ऋणी सदस्यले सम्पर्क पनि नगरेको र आफूले तिर्न/बुझाउनुपर्ने दायित्वसमेत तिरे/बुझाएको नदेखिएकाले अब सम्पत्ति रोक्का राख्ने, कालोसूचीमा राख्ने र एकाघर परिवारको सम्पत्ति बिक्री गरेर ऋण असुल गर्ने निर्णय भएको समितिले जनाएको छ ।