केटी साथी भेट्न नदिएको झोकमा ५ जना मिलेर साथीको हत्या

केटी साथी भेट्न नदिएको झोकमा ५ जना मिलेर साथीको हत्या


ग्लोब नेपाल
108
Shares

सिरहा । सिरहामा ५ जना मिलेर आफ्नै साथीको हत्या गरेका छन् । गोलबजार नगरपालिका–१३ डंगराहाका २१ वर्षीय कृष्णकुमार महराको हत्या उनकै साथीहरुबाट भएको प्रहरीले जनाएको छ । सिरहा प्रहरी प्रवक्ता डिएसपी वीरेन्द्रकुमार पासवानले लागुऔषध सेवनकर्ताका ५ जना मिलेर साथीको हत्या गरेको बताए ।

महराको शव सुखीपुर नगरपालिका–१० गागन खोला किनारमा गत २८ असोजमा कम्मरभन्दा माथिको भाग बालुवाले पुरिएको अवस्थामा फेला परेको थियो । प्रहरीले हत्यामा संलग्न गोलबजार नगरपालिका–१३, डंगराहा टोलका २८ वर्षीय रोहितकुमार महरा २७ वर्षीय सन्तोषकुमार महरा, २१ वर्षीय धर्मेन्द्र महरा, २० वर्षीय मोहमद जमसेद र १९ वर्षीय धिरजकुमार रामलाई पक्राउ गरेको छ ।

डिएसपी पासवानका अनुसार मृतक कृष्ण रोहितसँगै त्यस दिन सुखिपुर नगरपालिका–१०, शिवचौकमा दुर्गा मेलामा गएका थिए । अरु साथीहरुसँग उनीहरुको मेलामै भेट भएको थियो । उनीहरु सबैले मेलास्थल नजिकै खोला किनारमा पुगेर गाँजा र नाइट्राभेट नाम गरेको लागुऔषध सेवन गरेका थिए ।

त्यस क्रममा कृष्णले आफ्नी केटी साथीलाई मेलामा भेट्न बोलाउने बताए । उनका साथीहरुले आफूहरुलाई पनि ती केटी साथीसँग भेटाइदिन भने । तर, कृष्णले मानेनन् । सोही विषयमा सुरु भएको विवाद चर्किंदै जाँदा उनको हत्या भएको पासवानले बताए ।

उनका अनुसार पक्राउ परेका पाँचै जनाले कृष्णलाई चारतैतिरबाट घेरा हाली कुटपिट गर्नुका साथै कैंचीले घाँटी र पेटमा प्रहार गरी क्रुरतापूर्वक हत्या गरेका थिए । गागन खोलाको पश्चिमतर्फ खाल्डो खनेर कृष्णको शरीरको माथिल्लो भाग बालुवाले ढाकेर पाँचै जना फरार भएका थिए ।

पाँचै जनाविरुद्ध कर्तव्य ज्यान मुद्दामा सिरहा जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।