काम थालेकाे ७ वर्षपछि कालीगण्डकीमाथि पक्की पुल

काम थालेकाे ७ वर्षपछि कालीगण्डकीमाथि पक्की पुल



बागलुङ । कालीगण्डकी नदीमा पक्की पुल निर्माण भएपछि बागलुङ र पर्वतको दक्षिण क्षेत्रका सर्वसाधारणलाई आवागमनमा सहज भएको छ । गण्डकी प्रदेश सरकारको रणनीतिक सडक जोड्ने याे पुल बनाउन शुरू गरेकाे झन्डै सात वर्षपछि निर्माण सम्पन्न भएको हो ।

पोखराबाट पर्वतको फलेबास हुँदै बागलुङको जैमिनीघाट र गलकोट जोड्ने रणनीतिक सडकअन्तर्गत कालीगण्डकी पुल तयार भएपछि सर्वसाधारण खुशी भएका छन् ।

कालीगण्डकी करिडोर र मध्यपहाडी लोकमार्ग जोड्ने मार्ग तथा पोखराबाट गलकोट जाने वैकल्पिक मार्गका रूपमा यो सडक पाँच वर्षअघि सूचीकृत भएको थियो । पोखराबाट गलकोटसम्मको सडक तयार हुँदा कालीगण्डकी नदी वारपार गर्न बन्दै गरेको पुल सात वर्षपछि सम्पन्न भएको हो । निर्धारित समयमा काम सक्न प्राविधिक र भौगोलिक कारण कारक बन्दा पुल निर्माणमा ढिलाइ भएको निर्माण कम्पनीले जनाएको छ ।

रसुवा/श्री गीता/फेवा संयुक्त निर्माण कम्पनीले विं.सं. २०७३ असोज ९ गते सम्झौता गरेको ठेक्काको काम ढिला गरी सकिएको हो । याे पुलको पूर्वतर्फको खण्डमा सडकले जोड्न बाँकी छ । पहरो परेकाले झन्डै ५० मिटर सडक नयाँ बनाउनुपर्ने छ । यो सडक बनेपछि मङ्सिरभित्र मोटर गुड्नेछ, ठेकेदार कम्पनीका प्रतिनिधि नीलकुमार राईले भने ।

पश्चिम किनारमा कालीगण्डकी करिडाेर कालोपत्र हुँदै गरेको र पूर्वी किनारमा कुश्मा–फलेबास सडक कालोपत्र भइसकेकाले यो पुल तत्कालै प्रयोगमा आउने उनले बताए ।

पुल निर्माण सकिएको छ । अब लिङ्क रोडको काम एक महिनामा सक्छौँ, राईले भने, भुक्तानीका लागि डिजाइन परिवर्तन भएको पत्र पाएका छैनौँ । नदीमा पायल फाउन्डेशन विना पुलको पिलर ठड्याउन नसकेपछि सडक विभागले डिजाइन परिवर्तन गरेको थियो । त्यहीअनुसारको भुक्तानी स्वीकृति नभएको बताउँदै डिजाइन परिवर्तन गर्नुपरेकाले तीन पटकसम्म म्याद थप्नुपरेको उहाँले जानकारी दिए ।

जैमनी नगरपालिका–१ जैमिनीधामबाठ पर्वतको फलेवास नगरपालिकाको देवीस्थान जोड्ने एक सय मिटर लामो मोटरेबल पुल सम्पन्न भएपछि स्थानीयलाई आवागमनमा सहज हुने भएको छ । यो पुलले पोखरासम्म जाने नयाँ मार्गको ढोका खोलेको छ, जैमिनी नगरपालिकाका उपमेयर हरिहर शर्माले भने, यहाँका बासिन्दालाई अब पोखरा जान झन्डै ३० किमी दूरी छोटो पर्छ । मध्यपहाडी लोकमार्गबाट करिडोर हुँदै पोखरा पुग्ने विकल्पका रूपमा यो मार्ग प्रयोगमा आउने उनले बताए ।

गएकाे असारमा अन्तिम म्याद थप भए पनि मङ्सिरसम्ममा काम सकेर हस्तान्तरण हुनेगरी काम भइरहेको सडक डिभिजन कार्यालय बागलुङका डिभिजन प्रमुख हरिप्रसाद सुवेदीले जानकारी दिए । पुलको भौतिकतर्फ ९५ प्रतिशतभन्दा बढी काम सम्पन्न भएको भन्दै वित्तीयतर्फ भने ८६ प्रतिशत मात्रै भुक्तानी भएको उनले बताए ।

प्रसिद्ध जैमिनीधामबाट पर्वतको फलेबास–कार्कीनेटा, स्याङ्जाको पुतलीखेत हुँदै पोखरा जोड्ने यो वैकल्पिक र छोटो मार्ग हो । १३ करोड १२ लाख ४९ हजार तीन सय ६४ रुपैयाको लागतमा यो पुलको सम्झौता भएको सडक डिभिजन कार्यालय बागलुङले जनाएको छ ।