पर्वत । नेपालीहरूको दोस्रो ठूलो पर्व तिहारको अवसरमा पर्वतमा देउसीभैलो खेल्नेहरूको आकर्षण बढेको पाइएको छ । विभिन्न उद्देश्य र योजनाअघि सारेर देउसीभैलो खेल्ने संघ संस्थाहरूको सङ्ख्या ह्वात्तै बढेको हो । विगतका वर्षहरूमा बढिजसो बालबालिकाहरू मात्र देउसीभैलो खेलेको देखिने गरे पनि यसपटक भने पाका पुस्तासमेत दैनिक देउसीभैलोमा रमाइरहेका देखिन्छन् ।
पर्वत सदरमुकाम कुश्माबजारमा यसपटकको तिहारमा झण्डै ५० देखि ७० वटा समूहले देउसीभैलो कार्यक्रम गरिरहेका छन् । क्षेत्री समाज पर्वतले राहत कोष स्थापना गर्ने उद्देश्यले कात्तिक १४ गतेदेखि नै देउसीभैलो कार्यक्रम गरिरहेको छ । कुश्माबजारमा विभिन्न चोकमा मात्र नभएर वारीबेनी, डिमुवा, चुवालगायत स्थानमा समेत पुगेर देउसीभैली गरिएको समाजका सचिब गणेशबहादुर क्षेत्रीले जानकारी दिए । उनका अनुसार विपद्लगायत समस्यामा परेकाहरूको सहयोगका लागि कोष स्थापना गर्न कार्यक्रम सञ्चालन गरिएको हो । क्षेत्री समाजले राष्ट्रिय तथा स्थानीय कलाकारहरूलाई समेत सहभागी गराएको छ ।
यस्तै, विभिन्न पार्टीका जनवर्गीय सङ्गठनहरूले पनि विभिन्न उद्देश्य राखेर देउसीभैलो खेलिरहेका छन् । नेकपा (माओवादी केन्द्र) निकट अखिल क्रान्तिकारीले विपन्न तथा जेहन्दार विद्यार्थीको सहयोगार्थ देउसीभैलो कार्यक्रम गरिरहेको छ । देउसीभैलोबाट सङ्कलित रकमले आर्थिक अभावमा पढ्नवाट बञ्चित भएका विद्यार्थीलाई सहयोग गरिने सङ्गठनका सचिव सन्दिप नेपालीले जानकारी दिए ।
यसैगरी नेकपा (एमाले) निकट नेपाल उत्पीडित जातीय मुक्ति समाजले पनि देउसीभैलो कार्यक्रम गरेको छ । कोष स्थापना गर्नका लागि समाजले कुश्माबजारका विभिन्न चोकमा पुगेर देउसीभैलो कार्यक्रम गरेको संस्थाका सदस्य जीतबहादुर विकले जानकारी दिए ।
यसबाहेक विभिन्न आमा समूह, पर्यटन महिला समूह, बुहारी समूह, विद्यार्थीलगायतका संस्थाहरूले पनि देउसीभैलो कार्यक्रम गरिरहेका छन् । हाल कुश्माबजार र आसपासका ग्रामीण क्षेत्र देउसीभैलोका गीतले गुन्जयमान छन् ।
देउसीभैलोमा मौलिकता भने हराउँदै गएको छ । परम्परागत रूपमा भट्टाउने र देउसीरे भन्ने तथा गाउँ समाजका कथावस्तु देउसीरे मार्फत सुनाउने प्रचलन हटेको छ । आधुनिक साउण्ड सिष्टममा विभिन्न नेपाली लोक, पप तथा हिन्दी गीत समेतमा नाच्नाले मौलीकता हराउँदै गएको स्थानीय भोलानाथ शर्माले बताए ।
जिल्ला प्रशासन कार्यालय पर्वतले सूचना जारी गर्दै समग्र शान्ति सुरक्षाको अवस्थालाई मध्यनजर गर्दै आपराधिक घटना न्यूनीकरण गर्न राति ९ बजेपछि देउसीभैलो खेल्न नपाइने जनाएको छ । प्रमुख जिल्ला अधिकारी केदारनाथ शर्माले सूचना जारी गर्दै राति ९ बजेपछि देउसीभैलोका कार्यक्रम गर्दा विभिन्न आपराधिक क्रियाकलाप बढ्न सक्ने भएकाले रोक लगाइएको उल्लेख गरे ।
यस्तै, पर्वत उद्योग वाणिज्य संघले तिहारको अवसरमा घर वा टोलमा आइपुग्ने देउसीभैलो खेल्ने टोलीलाई अधिकतम रु एक सय ५१ रुपैयाँभन्दा बढी नदिन अनुरोध गरेको छ । संघका अध्यक्ष ठाकुरबहादुर पौडेलले देउसीभैलो समूहले दाताको चाहनामा भन्दा पनि आफ्नो चाहनामा मोटो रकम मागेर हैरान पार्ने गुनासाहरू विगतदेखि नै सुनिँदै आएकाले बजारका उद्योगी व्यवसायीलाई त्यस्तो अनुरोध गरिएको बताए ।
प्रतिक्रिया