ज्योति गुरुङ र ज्योति भण्डारीविरुद्ध इन्टरपोलमा रेड नोटिस जारी

ज्योति गुरुङ र ज्योति भण्डारीविरुद्ध इन्टरपोलमा रेड नोटिस जारी



काठमाडौं । ललितपुरको मितेरी बचत तथा ऋण सहकारी संस्थाको रकम अनियमितता प्रकरणमा ज्योति गुरुङ र ज्योतिबहादुर भण्डारीविरुद्ध अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) मा रेड नोटिस जारी भएको छ ।

प्रहरी प्रधान कार्यालय, नक्सालमा रहेको नेश्नल सेन्ट्रल ब्यूरो (एनसीबी) को सिफारिसका आधारमा इन्टरपोलको फ्रान्समा रहेको हेडक्वार्टरले दुईजनाविरुद्ध रेड नोटिस जारी गरेको प्रहरीले जानकारी दिएकाे छ ।

महालक्ष्मीस्थानमा रहेको मितेरी सेभिङ एन्ड क्रेडिड कोओपरेटिभको १४ करोड ८१ लाख रुपैयाँ रकम हिनामिना भएको थियो ।

गुरुङ सत्तारुढ नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङकी पूर्वपत्नी समेत हुन् । अनुसन्धानका क्रममा सम्बन्धविच्छेद भएपछि पनि गुरुङले सहकारीको ऋण तिरेको पाइएको छ ।

प्रहरीका अनुसार, अर्का आरोपी ज्योतिबहादुर भण्डारी भने सहकारीका सदस्य पनि थिएनन् । तर, उनलाई ऋण प्रवाह गरेको भेटिएको छ ।

यो सहकारी ठगीबारे अनुसन्धान गरिरहेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले गुरुङ र भण्डारीको खोजीका लागि इन्टरपोलमा रेड नोटिस जारी गरिदिन भन्दै एनसीबीलाई यसअघि पत्र पठाएको थियो ।

सहकारी रजिष्टारको कार्यालय बागमतीले पत्र पठाएपछि सीआईबीले यो सहकारीबारे अनुसन्धान थालेको थियो ।

सहकारीका अध्यक्ष कुम्मराज गुरूङले संसदीय विशेष छानबिन समितिमा पनि बयान दिएका थिए । बयानका क्रममा उनले ज्योति व्यवस्थापक रहेको र उनले सहकारीको बचत रकम नै लगेको बताएका थिए ।